स्वास्थ्य सेवा विभागमार्फत म्यामोग्राफी मेसिन (स्तनक्यान्सर जाँच गर्ने) खरिदमा करिब पाँच करोड अनियमितता गरेको भन्दै स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै खरिद प्रक्रियामा लागत अनुमान बनाउँदादेखि नै मिलेमतो देखिएको दाबी गरेको छ । यही विवादका कारण मिश्रा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अन्तिम समयमा मन्त्री बन्नबाट रोकिएकी थिइन् ।
कम्पनीले ६ करोड ८५ लाख ७७ हजार रुपैयाँमा खरिद गरेर ल्याएको मेसिन १२ करोड ५५ लाखमा बोलपत्र पाएको थियो । भ्याटसहित ठेक्का पाउने कम्पनी म्याक्सिम इन्कर्पाेरेटेड ट्रेडर्सले १४ करोड ६ लाख ८५ हजार रुपैयाँ भुक्तानी लिएपछि खरिद प्रक्रियामा संलग्न १३ कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर गरेको आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
मेसिन खरिदमा १३ करोड ७५ लाखको लागतअनुमान बनाएर १२ कारेड ५५ लाख अर्थात् १.७५ प्रतिशत कममा मात्र ठेक्का दिइएको थियो । मिलेमतो रहेको र खुला प्रतिस्पर्धा हुन नसक्दा लागत धेरै परेको अख्तियारको दाबी छ ।
यसमा स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित डा. श्रवणकुमार थापा, डा. सुरेन्द्रप्रसाद चौरसिया, डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनकुमार काफ्ले, कानुन अधिकृत सीता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकारी दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र तथा जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साहलाई प्रतिवादी बनाइएको छ ।
आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पाेरेटेड र सो कम्पनीका सञ्चालक भुसाललाई पनि मुद्दा चलाइएको छ । सबैलाई समान १४ करोड ६ लाख ८५ हजार रुपैयाँबराबरको बिगो कायम गरिएको छ ।