काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी गेटअगाडि ‘२२औँ काग सम्मेलन’ भव्य रूपमा सम्पन्न गरेका छन् ।
टप राजधानी रोधी र ग्रिनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौँ कागलाई नारायणहिटीअगाडि आकर्षित गरेका थिए । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ हजारौ कागहरू आकाशबाट झर्दै भेला भएका थिए।
दुलाल कागसहित हालसम्म १७३ प्रकारका जनावर र चराचुरुंगीका आवाजहरू निकाल्न सक्ने क्षमता राख्छन् । उनले मुखकै सहायताले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुनसमेत प्रस्तुत गर्न सक्छन्।
विगतका तिहारमा उनले रत्नपार्कस्थित शान्ति बाटिकामा, एयरपोर्ट परिसरलगायतमा काग सम्मेलन गरेका थिए । दुलालले भने, ‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूप मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।’