मणिपाल र गण्डकीपछि चरक अस्पतालका नर्स पनि आन्दोलित

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

पोखरास्थित चरक मेमोरियल अस्पतालका नर्सले शनिबारदेखि आन्दोलन सुरु गरेका छन् । अस्पतालले श्रम शोषण गरेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्स आन्दोलनमा उत्रिएका थिए ।

चरक अस्पतालमा कार्यरत नर्सहरूले आफूहरूलाई मासिक ९–१० हजार रुपैयाँ तलब दिइएको बताएका छन् । आन्दोलनमा उत्रेका नर्सले शनिबारदेखि अस्पतालको भवनको मुख्य प्रवेशद्वार अगाडि प्लेकार्डसहित धर्ना एवं नाराबाजी गर्दै आन्दोलन सुरु गरेका हुन् । यसअघि अस्पतालले श्रम शोषण गरेको भन्दै २४ असोजदेखि मणिपाल र २७ असोजदेखि गण्डकीमा कार्यरत नर्सहरूले काम छाडेर आन्दोलन जारी राखेका छन् । तीनै अस्पताल परिसरमा प्लेकार्डसहित धर्ना दिएर नाराबाजी गरेका नर्सहरूले ‘हामीलाई न्याय दे,’ ‘हाम्रो माग पूरा गर्,’ ‘श्रम शोषण बन्द गर्,’ ‘हामी मेसिन होइन नर्स हौँ,’ ‘अब त अति भो,’ ‘नो पे नो वर्क,’ ‘हाम्रो मिहिनेत हाम्रो पैसा,’ ‘सरकारले बचाओ हाम्रो नर्सिङ पेसा’लगायत नारासँगै प्लेकार्ड बोकेका छन् ।

यसअघि अस्पताल प्रशासनलाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाए पनि कुनै सुनुवाइ नभएपछि उनीहरूले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रेका नर्सहरूले स्वास्थ्य मन्त्रालयले तोकेको तलबसँगै अन्य सुविधा पाउनुपर्ने, वार्षिक रूपमा पाउँदै आएको चाडपर्व बिदा, घर बिदा, बिरामी बिदालगायत अन्य बिदाको भत्ता, जोखिम विभागमा काम गर्नेले सोहीअनुसारको भत्ताको व्यवस्थालगायत माग राखेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र तिहारपछि पोखराबाट सुरु भएको आन्दोलन देशभर चर्काउने उनीहरूको चेतावनी छ ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) गण्डकीका अध्यक्षसमेत रहेका चरक अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले नर्सहरूलाई आफूहरूले ट्रेनीको रूपमा खाजा खर्च र बसभाडा मात्र दिएको, तलब नदिएको बताए । ‘हामीले न्युरोडमा हिँडिरहेका मान्छेलाई तानेर ल्याएर स्टार्फ नर्सको जागिर खा, आठ हजार दिन्छु, १५ हजार दिन्छु भनेर राखेको होइन । उहाँहरू म भोलेन्टियर गर्छु भनेर निजी अस्पताल, मेडिकल कलेजहरूमा छिर्नुभएको हो । हामीहरूले सित्तैंमा काममा नलगाई ट्रेनी स्टाफका रूपमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म दिएको हो । हामीले दिएको पैसा तलब होइन । हामीले उहाँहरूलाई ट्रेनीको रूपमा खाजा खर्च र बसभाडा मात्र दिएको हो । स्वास्थ्य मन्त्रालयको परिपत्रअनुसारको तलब दिन सक्दैनौँ,’ उनले भने ।

सुझावित समाचार