तर, शनिबार पार्टी कार्यालय पुगेका ओलीले भने– झापामा मेरो घर जलाइयो, हेर्न जानुपरेन ? काठमाडौं उपत्यकाको साँगा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने रे, क्या गज्जबको सरकार । साँगा कट्ने मात्र होइन, जतिवेला काम पर्छ, नेपालको सहरभित्र म जहाँ पनि जान्छु । कुन कानुनले समाउँछ, कुन कानुनले थुन्छ र कुन लोकतन्त्रले थुन्छ, त्यो म हेर्छु ।
एमाले अध्यक्ष केपी ओलीले अनुमतिविना उपत्यका बाहिर जान रोक लगाउने सरकारको निर्णयलाई चुनौती दिएका छन् । २३ र २४ भदौको जेनजी आन्दोलनमा भएको सरकारी दमन र विध्वंशको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीसहित पाँचजनाको पासपोर्ट रोक्का गर्दै अनुमतिविना उपत्यका बाहिर जान रोक लगाएको छ । शनिबार च्यासलस्थित पार्टी कार्यालय पुगेका ओलीले सरकारको निर्णय नमान्ने बताए ।
‘झापामा मेरो घर जलाइयो, हेर्न जानुपरेन । काठमाडौं उपत्यकाको साँगा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने रे, क्या गज्जबको सरकार । साँगा कट्ने मात्र होइन, जतिवेला काम पर्छ, नेपालको सहरभित्र म जहाँ पनि जान्छु । कुन कानुनले समाउँछ, कुन कानुनले थुन्छ र कुन लोकतन्त्रले थुन्छ, त्यो म हेर्छु,’ सरकारलाई चुनौती दिँदै ओलीले भने, ‘जथाभावी मनपरी गर्ने ? तिमीले कहाँबाट ल्यायौ यो देश ? मौखिक आदेश जे पनि गर्न पाइन्छ ? निर्णय भनेर जे पनि गर्न मिल्छ ? कारण हुनुपर्छ ।’ सरकारको निर्णय लोकतन्त्रविरोधी भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगले गत १२ असोजमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजाललाई विदेश जान रोक लगाउने निर्णय गरेको थियो । सोधपुछका लागि जुनसुकै वेला बोलाउनुपर्ने भएकाले उपत्यकाबाहिर जानसमेत अनुमति लिन भनिएको छ ।
जेलनेल र हन्डरठक्कर खाएर आएकाले सरकारले स्थानहद तोक्यो भन्दैमा आदेशपालक नबन्ने ओलीको चेतावनी छ । ‘हामी देशभित्रै जेल, भूमिगत बसेर संघर्ष गरेर आएका हौँ । त्यसकारण हामी कमजोर हुतिहारा होइनौँ,’ उनले भने । आफूलाई पूर्वाग्रह साँधेर सरकारले गिरफ्तार गर्न खोजेकोप्रति पनि ओलीले आपत्ति जनाए । ‘दिनैपिच्छे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश ? केमा मुद्दा लगाउनुहुन्छ ? मसँग रिस उठ्यो भन्दैमा मुद्दा लगाएर थुन्ने ? कुनै आधार छ, कुनै कारण छ ?’ उनले प्रश्न गर्दै भने । एमालेले ००७ देखि होस् या ०४६ पछि सबै भ्रष्टाचार र सबैको सम्पत्ति छानबिन गर्न तयार रहेको धारणा राख्दै आएको भन्दै ओलीले सत्यतथ्य बाहिर ल्याउन पनि चुनौती दिए ।
कमजोर जगमा उभिएको सरकार जुनसुकै वेला ढल्ने दाबी
कमजोर जगमा हाटहुट र लाटलुटको घटनाबाट गठित असंवैधानिक र गैरकानुनी अहिलेको म्यादी सरकार जुनसुकै वेला ढल्ने उनको भनाइ थियो । ‘यो एउटा भुल्को हो । ख्याल रहोस्, यो म्याद नतोकिएको म्यादी सरकार हो । घामजून रहेसम्म रहन्छु भन्ने भ्रम छ भने छोडिदिए हुन्छ । जग नभएको यसो हल्लिँदा पुक्लुक्क ढल्ने । जग भएकोलाई त फ्याँकियो भने जगै नभएको हल्लिँदै पुक्लुक्क हुन्छ यो । अनि यो सरकारको यत्रो धाकधक्कु ?’ ओलीले भने ।
अहिलेको अवस्थामा चुनाव गराउने वातावरण बनाउने तयारीमै सरकार नभएको भन्दै ओलीले अविलम्ब संसद् पुनस्र्थापना हुनुपर्ने पनि बताए । ‘आमजनता सहभागी भएर होइन, त्रसित बनाएर, तिनको घरमा आगो लगाएर, हाटहुट, लाटलुटको बिचमा बनाइएको सरकार हो । यो सरकारको सिफारिसमा सार्वभौम जनताले निर्वाचित गरेको सर्वोच्च संस्था विघटन गरेर संवैधानिक, कानुनी रिक्तता, नागरिक संस्थाको रिक्ततामा पुर्याइएकाले यो प्रतिगमन हो । प्रतिगमन सच्याउनुपर्छ र प्रतिनिधिसभाको अविलम्ब पुनस्र्थापना गर्नुपर्छ,’ उनले भने ।
‘हदबन्दी गर्ने, दलहरूलाई चुनावमा जान नदिने, २१ फागुनमा चुनाव गर्ने भन्ने अनि राजनीतिक पार्टीहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने । २१ फागुनमा चुनाव हुन्छ भन्छ । सोचै त्यस्तो हो कि दुनियाँलाई ढाँटेको हो ? यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले प्रतिनिधिसभा पुनस्र्थापना भनेका छौँ,’ ओलीले भने ।