एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको सिइओको कार्यकाल १५ कात्तिकदेखि लागू हुनेछ ।
सिइओ नियुक्तिसँगै कार्यवाहक सिइओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबिरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को भूमिकालाई निरन्तरता दिनेछन् ।
दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव हासिल गरेका क्यानडा–केन्याका नागरिक फोलेले यस क्षेत्रका प्रमुख कम्पनीमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका छन् ।एनसेलमा आबद्ध हुनुअघि उनले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा जिम्मेवारी वहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टिपी)का सिइओका रूपमा कार्य गर्दै कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।
नवनियुक्त फोलेले भने, ‘एनसेलको जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेलले नेपाली जनताका लागि नयाँ अवसर सिर्जना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ ।’