- २०८० को सातौँ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्लब लिगमा खेलाडी र समर्थकमाथि अभद्र व्यवहार गरेपछि हरिहजुर थापालाई संघले कारबाही गर्दै कप्तानको जिम्मेवारीबाट हटाएको थियो, दुई वर्षपछि उनले पुन: कप्तानको जिम्मेवारी पाएका हुन्
नेपाल भलिबल संघले बंगलादेशमा हुने काभा पुरुष नेसन्स कपका लागि हरिहजुर थापालाई पुन: कप्तानीको जिम्मेवारी दिएको छ । नेपाली राष्ट्रिय भलिबल पुरुष टोलीका १२औँ कप्तानका रूपमा थापा बनेका छन् । यसअघि उनले ०८० सालमा पनि टोलीको कप्तानी गरेका थिए । त्रिभुवन आर्मी क्लबमा आबद्ध थापाले दोस्रोपटक राष्ट्रिय टोली सम्हालेर बंगलादेशसँग खेल्न पाउँदा खुसी लागेको बताएका छन् । दुई वर्षअघि राष्ट्रिय टोलीको कप्तान भइरहँदा उनी कारबाहीमा परेका थिए । संघको कारबाहीका रूपमा थापाले राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानी जिम्मेवारीसमेत गुमाउन पुगे ।
दुई वर्षअघि सातौँ प्रधानमन्त्री कप एनभिए पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी र आर्मीबिच खेल भएको थियो । उनले आर्मीको कप्तानी गरेका थिए । सो खेलमा उनले गण्डकीका समर्थकसँग झगडा गरेका थिए । कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै तत्कालै संघले थापालाई कप्तानबाट हटाएको थियो । त्यसपछि संघले मानबहादुर श्रेष्ठलाई ११औँ नेपाली टोलीका कप्तानका रूपमा जिम्मेवारी दिएको थियो ।
संघको शुक्रबार बसेको ५८औँ कार्यसम्पादन कमिटीको बैठकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको सुझावमा थापालाई कप्तान चयन गरेको जनाएको छ । यसअघिका नेपालका कप्तान मानबहादुरले ०८० कात्तिकमा सन्न्यास लिएपछि नेपाली पुरुष भलिबल टोली कप्तानविहीन थियो । यो दुई वर्ष अवधिमा नेपालको पुरुष टोलीले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको थिएन । जसले गर्दा संघले कप्तानी नै चयन गरेन । अहिले नेपाली पुरुष भलिबल टोलीमा कप्तान थापासँगै धनबहादुर भट्ट सिनियर खेलाडीका रूपमा छन् ।
आर्मीका अनुभवी खेलाडी
थापा आर्मीका अनुभवी सेटर खेलाडी हुन् । एक दशकदेखि उनी नियमित रूपमा राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । तर, संघको कारबाहीका कारण उनले दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन पुगे । कारबाहीमा रहँदा उनी सेनाको शान्ति मिसनमा गए । मिसनबाट फर्केपछि उनले पुन: भलिबलमा पुनरागमन गरेका हुन् । नेपालका लागि सबैभन्दा लामो समय कप्तानी गर्ने भरतबहादुर शाह हुन् । उनले १६ वर्ष नेपालका लागि कप्तानी गरेका थिए ।
नेपालको पहिलो कप्तान ऋषिराज आचार्य हुन् । सन् १९९६ मा पाकिस्तानमा भएको काइदे आजाम नेपालले आचार्यको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । यसैबिच श्रीलंकामा हुने काभा यू–१९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तानीको जिम्मेवारी दिएको संघले जनाएको छ । जेनिशाले गत वर्ष माल्दिभ्समा भएको काभा यू–२० महिला भलिबलमा पनि नेपालको कप्तानी गरेकी थिइन् ।