मन्त्रिपरिषदबाट त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत

शनिबार, २ कार्तिक, २०८२
डिजिटल संस्करण

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको गुरुयोजना सरकारले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गरेको हो । गुरुयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजनाअनुसार रंगशाला निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र पर्यटन प्रवद्र्धनमा समेत यसले योगदान दिन सक्ने बताए । ‘अन्तर्राष्ट्रियस्तरसम्म नेपालको नाम उच्च बनाउने माध्यम बनेको क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत भएको छ,’ घिसिङले भने, ‘यस रंगशालालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गरिएको छ ।’ 

उनले भनेका छन्, ‘रंगशालाको विकास र आधुनिकीकरण नेपालका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधासम्पन्न क्रिकेट रंगशाला चाहिएकाले गुरुयोजनाबमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय भएको छ ।’ मन्त्री घिसिङले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रूप दिने र गुरुयोजनाबमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए ।

उनले गत भदौमा रंगशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षण गरेका थिए । त्यसवेला घिसिङले राष्ट्रिय गौरवको आयोजनामा रहेको मैदानमा बजेट अभाव नहुने र रंगशाला विस्तारको दोस्रो चरण अगाडि बढाउने जानकारी दिएका थिए । त्रिवि र नेपाल क्रिकेट संघबिचको जग्गा करार सम्झौता ०८३ सालको वैशाखमा सकिँदै छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजनाअनुसार आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानुनबमोजिम त्रिभुवन विश्वविद्यालय, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बिच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । १ मंसिरबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)भन्दा अगाडि रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । 

सुझावित समाचार