सरकारले पुरानो बस्ती फर्कन सक्ने अवस्था नरहेका ताप्लेजुङका पहिरोपीडित ६५ परिवारलाई मैवाखोला गाउँपालिका– ३को लुकुवामा स्थानान्तरण गरेर घर बनाइदिने भएको छ । विपत् व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले मैवाखोला गाउँपालिका ३ र ४ मा रहेका ओदक, एकबाँसे र ताम्राङका जोखिमयुक्त बस्ती गाउँपालिकाले सिफारिस गरेबमोजिम सोही गाउँपालिका– ३ को साँघुमा स्थानान्तरण गर्न स्वीकृति प्रदान गरेको हो । योसँगै ३ असोज ०८० को पहिरोबाट विस्थापित भएका मैवाखोला– ४ ओदकका ६२, ताम्राङका दुई र वडा ३ साँघुका एक गरी ६५ परिवारलाई स्थायी आवास बनाउने बाटो खुलेको हो । विस्थापितहरू दुई साँघुमा निर्माणाधीन मदन भण्डारी रंगशाला हाताभित्र अस्थायी टहरामा छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले बस्ती बसाउन पालिकाले सिफारिस गरेअनुसार निर्णय भएको बताइन् । ‘उहाँहरू पुरानो बस्तीमा फर्कन सक्ने अवस्था छैन । हामीले जग्गाका लागि प्रतिपरिवार तीन लाखसम्म र घर निर्माणका लागि पाँच लाखका दरले दिन्छौँ,’ उनले भनिन्, ‘बस्ती बसाउने योजनामा पालिकाले काम गर्छ ।’ बाढीपहिरोपीडितलाई स्थायी आवासका लागि संघ र प्रदेशले ४०–४० तथा स्थानीय तहले २० प्रतिशत रकम लगानी गर्नुपर्ने हुन्छ ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले प्रतिपरिवार एक रोपनी जग्गा खरिद गरेर एकीकृत बस्ती बसाउने योजना रहेको बताए । ‘लुकुवामा व्यक्तिको जग्गा खरिद गर्ने गरी छनोट भइसकेको छ । घडेरी मात्र दिएर भएन, आयआर्जनसँग जोडनुपर्नेछ । वस्तुभाउ पाल्नुपर्यो, करेसाबारी चाहियो,’ बेनमले भने, ‘मापदण्डमा रहेको रकमबाट अपुग भए हामी पालिकाको स्रोतबाट थप्छौँ । जग्गा खरिदकै लागि एक करोड ९० लाख आवश्यक पर्ने आकलन छ ।
विपत् संकटग्रस्त इलाममा अत्यावश्यक सेवा सञ्चालनका लागि पाँच करोड ३० लाख निकासा गर्न सिफारिस
विपत् जोखिम व्यवस्थापन कार्यकारी समितिले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका १० पालिकामा आपतकालीन पुनस्र्थापना कार्य तथा ‘लाइफलाइन’ सञ्चालनका लागि पाँच करोड ३० लाख सहयोग रकम निकासा गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । बैठकले इलामका अति प्रभावित पाँचवटा स्थानीय तहलाई ६० लाख रुपैयाँका दरले (तीन करोड), मध्यम प्रभावित तीनवटा स्थानीय तहलाई ५० लाखका दरले (एक करोड ५० लाख) र प्रभावित दुईवटा स्थानीय तहलाई ४० लाखका दरले (८० लाख) गरी पाँच करोड ३० लाख सहयोग रकम निकासाका लागि निर्णय गरेको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार आपत्कालीन सेवा सञ्चालनका लागि पालिकामा रकम निकासा गर्न सिफारिस गरिएको हो । ‘सडक, खानेपानीलगायत अत्यावश्यक सेवा सञ्चालनका लागि बजेट अभाव हुन सक्छ, स–सानो रकमले मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थाका लागि रकम निकासा गर्न सिफारिस गरिएको हो,’ उनले भनिन्, ‘ठुलो रकम आवश्यक पर्ने हकमा सम्बन्धित निकायबाट काम हुन्छ । अहिले निकासा हुने रकम राहतमा खर्च हुने होइन, राहतका लागि छुट्टै पैसा छ ।’
मध्यअसोजको बाढीपहिरोबाट प्रभावित इलामलाई मन्त्रिपरिषद्को २३ असोजको बैठकले विपत्् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । प्राधिकरणका प्रवक्ता महतका अनुसार विपत् व्यवस्थापन, पुनस्र्थापनाका लागि आवश्यक पर्ने खरिद प्रक्रिया फास्ट ट्र्याक (सार्वजनिक खरिद ऐनबाहिर रहेर)मा काम भइरहेको छ । यसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गरिरहेका छन् ।
शनिबारको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति इलामले भोगेको छ । ३९ जनाले ज्यान गुमाएका छन् । हालसम्म १२१ घरमा पूर्ण रूपमा क्षति पुगेको विवरण प्राप्त भएको छ । २०९ घरमा आंशिक क्षति पुगेको छ । विपतबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ संशोधनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि भएको छ ।
कुन पालिकाले कति पाउँछन् ?
अति प्रभावित इलाम, सूर्योदय र देउमाई नगरपालिका तथा माङ्सेबुङ र माईजोगमाई गाउँपालिकाले ६० लाखका दरले पाउनेछन् । त्यस्तै, मध्यम प्रभावित माई नगरपालिका तथा फाकफोकथुम र सन्दकपुर गाउँपालिकालाई ५० लाखका दरले निकासा गर्न अनुरोध गरिएको छ । प्रभावित चुलाचुली र रोङ गाउँपालिकालाई ४० लाखका दरले रकम उपलब्ध गराउन सिफारिस भएको हो ।