नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङले ७०औँ प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार परेको ७०औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै उनले जेन–जी आन्दोलनपछिको सुरक्षा चुनौतीको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिएका छन् ।
उनले हालको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प नभएको पनि बताए ।
‘भदाै २३ र २४ गते भएका अप्रिय घटनाहरूपश्चातको कठिन परिस्थितिमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पूरा गर्नुको विकल्प हामीसँग छैन,’ उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोत्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्न तथा तमाम अभाव र कठिनाइका बाबजुद नेपाल प्रहरीको उपस्थिति सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दछु ।’