आइसिसी टी–२० विश्वकप छनोट : नेपाललाई च्याम्पियन बन्ने अवसर

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रबार सामोआलाई हराउँदै आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन प्यासिफिक छनोट प्रतियोगिताको विजेता बन्ने अवसर छ । ओमानमा चलिरहेको छनोटमा अहिलेसम्म एक खेल पनि नहारेको नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआको सामना गर्दै छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल दिउँसो हुनेछ । समूह चरणमा सनसनी नतिजा निकालेको सामोआ सुपर सिक्समा गतिलो प्रदर्शन गर्न सकेको छैन ।

नेपालले सुपर सिक्समा आठ अंक बटुल्दै शीर्ष स्थान बलियो बनाएको छ । आयोजक ओमान ६ अंकका साथ दोस्रो स्थानमा छ । ओमान र नेपाल दुई अगाडि नै आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा स्थान पक्का पारेका थिए । प्रतियोगिताको बिहीबार जापानमाथिको सहज जितका साथ युएईले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । आगामी विश्वकपमा सहभागी हुने २० वटै टोलीको छिनोफानो भएको छ । एसियाबाट तीन टोली मात्र छनोट हुन बाँकी थियो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले अन्तिम खेलमा जितका साथ च्याम्पियन हुने बताएका छन् । ‘हामी च्याम्पियन भएर नेपाल फर्कनेछौँ,’ बुधबार ओमानमाथि ३८ रनले हराएपछि रोहितले भने, ‘अहिले सबै फर्ममा छन् ।’ नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट ल पनि लगातार पाँच जित निकाल्नेमा आत्मविश्वासी देखिन्छन् । सामोआविरुद्ध अहिलेसम्म अवसर नपाएका खेलाडीहरूलाई उनले मौका दिने योजना बनाएका छन् ।

जापान, कतार र सामोआ विश्वकप छनोट दौडबाट बाहिरिएका छन् । पाँचमध्ये तीन खेलमा जित र दुई हारको सामना गरेको युएईले ६ अंक बनाएको छ । रनरेटमा युएईले दोस्रो स्थानमा ओमानलाई विस्थापित गरेको हो । यद्यपि, ओमानले एक खेल कम खेलेको छ । कतार, जापान र सामोआले समान दुई अंक बनाएका छन् । यसअघि समूहबाट मलेसिया, पपुवा न्युगिनी र कुवेतबाटै बाहिरिएका थिए । नेपाल समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाएको हो । नेपाली टोलीले बलिङ र फिल्डिङ एकनासको प्रदर्शन गरेको छ । ब्याटिङमा भने एकरुपता देखिएको छैन ।

विश्वकप खेल्ने २० टोलीकै टुंगो 
युएइआइसिसी पुरुष टी–२० विश्वकप खेल्ने अन्तिम तथा २०औँ टोली बनेको छ । सुपर सिक्समा जापानलाई आठ विकेटले हराउँदै युएईले स्थान सुरक्षित गरेको हो । एसियाबाट अन्तिम राष्ट्रका रूपमा युएई छनोट भएको हो । विश्वकपमा आयोजक भारत र श्रीलंका स्वत: छनोट भएका थिए । सन् २०२४ को विश्वकपको सुपर–८ मा स्थान बनाएका अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिका सीधै छनोट भएका छन् । यसैगरी, वरीयताका आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्डले स्थान बनाएका छन् । क्यानडा, नेदरल्यान्ड्स, इटाली, जिम्बावे र नामिबिया छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् । नेदरल्यान्ड्स र इटाली युरोपबाट छनोट भएका हुन् । यसपटक इटाली डेब्यु राष्ट्रका रूपमा रहेको छ ।

प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने
विश्वकपमा छनोट भएसँगै नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीले जनही १९ लाख ५० हजार पाउने भएका छन । राष्ट्रिय खेलकुद विकास ऐनअनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकप प्रतियोगिता छनोट भएका यो रकम पाउने उल्लेख गरिएको छ । जसमा १४ खेलाडीले जनही १९ लाख ५० हजार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले साहब आलमलाई अतिरिक्त खेलाडीको रूपमा ओमान लगेको थियो । त्यसैगरी, प्रशिक्षकले ६ लाख पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकले तीन लाख २५ हजार तथा खेल संघले पाँच लाख पाउने उल्लेख गरिएको छ । ऐनअनुसार ओलम्पिकमा स्वर्ण पदक तथा विश्वकप फुटबल जितेको अवस्थामा सबैभन्दा धेरै एक करोड ३० लाख प्राप्त हुनेछ ।

टी–२० आईमा मल्लको एक हजार रन पूरा
विश्वकप छनोटमा ब्याटिङमा कमजोर प्रदर्शन गरिरहेका नेपालका ब्याट्सम्यान कुशल मल्लले व्यक्तिगत रेकर्ड भने बनाएका छन् । एसिया छनोटअन्तर्गत बुधबार राति ओमानलाई हराएको प्रतिस्पर्धामा मल्लले सात रन बनाएका थिए । यसै खेलमा उनले अन्तर्राष्ट्रिय टी–२० आईमा एक हजार रन पूरा गरेका हुन् । समग्रमा उनले ५९ टी–२० आई खेलबाट एक हजार तीन रन बनाएका छन् । टी–२० आईमा उनले एक शतक तथा चार अर्धशतकीय इनिङ्स खेलेका छन् । बलिङमा उनले २८ इनिङ्समा १९ विकेट हात पारेका छन् । सन् २०१९ मा सिंगापुरमा भएको प्रतिस्पर्धामा मल्लले जिम्बावेविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा उनले मंगोलियाविरुद्ध टी–२० आईमा कम बलमा शतकीय इनिङ्स खेलेका थिए । उनले केवल ३४ बलमा शतकको विश्वकीर्तिमान बनाए । तर, उनको यो रेकर्ड नामिबियाका खेलाडीले तोडे । मंगोलियाविरुद्ध उनले ५० बलमा एक सय ३७ रन जोडेका थिए । 

सुझावित समाचार