दलहरूले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने वातावरण बनाउन निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराएका छन् । आयोगको आह्वानमा बिहीबार भएको बैठकमा दलका प्रतिनिधिले चुनावको विकल्प नभएको, तर वातावरण बनाउनुपर्ने धारणा राखेका हुन् ।
जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई चुनाव घोषणा भएपछि बिहीबार आयोगले पहिलोपटक गरेको छलफलमा दलहरूले निर्वाचन वातावरणको सुनिश्चितता भइनसकेको बताए । छलफलमा सहभागी २९ दलका प्रतिनिधिले निर्वाचनमा सहभागी हुने वातावरण बनाउने दायित्व सरकार र आयोगकै हुने धारणा राखेका थिए ।
दलका प्रतिनिधिले चुनाव घोषणा गरेको सरकार प्रतिशोधमा उत्रिएको, दलहरूलाई निषेधको नीति लिएको तथा नेताहरूको धरपकड सुरु गरेको भन्दै यी गतिविधिले निर्वाचनको वातावरण नबनाउने बताए । उनीहरूले जेन–जी आन्दोलनपछि खस्किएको सुरक्षा निकाय र आमजनताको मनोबल उकास्ने गरी सरकारले पलह गर्नुपर्नेमा त्यो नदेखिएकाले चुनाव हुनेमा आशंका व्यक्त गरेका थिए ।
छलफलमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेको विषम परिस्थिति र संविधानबाहिरको राजनीति ट्र्याकमा ल्याउने बाटो निर्वाचन नै भएको बताए । तर, अहिले निर्वाचनको वातवरण भइनसकेको उनको भनाइ थियो । ‘चुनाव भयो भने संविधान ट्र्याकमा आउँछ । तर, सरकारले चुनाव गराउने वातावरण बनाएको छैन । सरकारले दलहरूसँग संवाद गरेको छैन र शान्तिसुरक्षाको सुनिश्चितता पनि गर्न सकेको छैन,’ उनले भने, ‘कांग्रेस चुनावका लागि तयार छ । तर, शान्तिसुरक्षा र भयरहित वातावरण सरकारले बनाउनुपर्यो । दलहरूलाई गाली गर्न, प्रतिशोध लिन र आक्रोशित बनाउन छोड्नुपर्यो ।’
विश्वकर्माले जेलबाट भागेका कैदी पक्राउ तथा लुटिएका हतियार फिर्ता गरेर प्रत्येक मतदातालाई सुरक्षित महसुस गराउनुपर्ने धारणा राखेका थिए । ‘शान्तिसुरक्षाको ग्यारेन्टी आयोग र सरकारले गर्नुपर्छ । कांग्रेस निर्वाचनमा जान्छ, निर्वाचनको विकल्प छैन,’ विश्वकर्माले भने । उनले सरकार, सुरक्षाकर्मी, आयोग, दलहरूसँग एकैठाउँमा बसेर छलफलको वातावरण बनाउन माग गरे ।
एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन आवश्यक रहेको बताए । कुनै व्यक्ति वा अदृश्य तŒवहरूको उक्साहटमा सरकारले दललाई निर्वाचनमा जानबाट वञ्चित गर्ने प्रयास गरेको उनको आरोप छ ।
‘सरकार चुनाव गराउने बाटोमा अग्रसर छैन । चुनावको वातावरण बनाउनका लागि गर्नुपर्ने न्यूनतम काम पनि सरकारले गरेको छैन । बरु, सरकार उल्टो बाटोमा हिँडिरहेको छ । राजनीतिक दलहरूसँग संवाद गर्नुको साटो उनीहरूलाई निषेध गर्ने काम भइरहेको छ,’ उनले भने, ‘दलहरूलाई बाहिर निस्कन नदिने, नेताहरूलाई मुद्दा लगाउने, जिते पनि परिणाम खारेज गरिदिनेजस्ता उत्तेजक र निषेधकारी धम्की दिने विभिन्न विवादास्पद पात्रहरूको सरकारबाटै संरक्षण र प्रोत्साहन भइरहेको छ । यस्ता गतिविधिले निर्वाचनको वातावरण बनाउनेतर्फ होइन, निषेध र भिडन्ततर्फ उन्मुख गराउँछ ।’
माओवादी नेता देव गुरुङले आफूहरू निर्वाचनमा सहभागी हुने, तर वातावरण नबनेको बताए । ‘निर्वाचन गर्नुपर्छ र हामी सहभागी हुन्छौँ । तर, सरकारले त्यो बाटो बनाइरहेको छैन । शान्तिसुरक्षाको सुनिश्चितता छैन । दलहरूविरुद्ध आतंकको वातावरण सिर्जना गरिएको छ । प्रतिशोध साध्ने प्रक्रिया सुरु भएको छ । नेताहरूमाथि मुद्दा लगाउने काम सुरु भइसकेको छ,’ उनले भने, ‘यस्तो हर्कतले निर्वाचन बिथोल्ने देखिन्छ । सरकारले निर्वाचन गराउन चाहेको हो भने शान्तिसुरक्षाको प्रत्याभूति गराउनुपर्यो । अस्थिरता र अराजकता पैदा गराउने तथा संविधान समाप्त पार्ने गतिविधि रोकिएनन् भने कसरी निर्वाचन हुन्छ ?’
रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन सरकार र आयोगले पहल गर्नुपर्ने बताए । ‘सरकार र आयोगले वातावरण बनाउनुपर्छ । त्यसपछि चुनाव सुनिश्चित हुन्छ । विशिष्ट अवस्थाको निर्वाचन भएकाले सुधार गर्नुपर्ने कुराहरू हेर्नुपर्छ । परिवर्तन संस्थागत गर्ने सन्दर्भमा दल दर्ता, अद्यावधिक र मतदाता नामावलीसम्म डिजिटाइज गर्नुपर्छ,’ उनले भने ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै दलले निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएको र वातावरण बनाउनुपर्नेमा जोड दिएको बताए । ‘दलहरूबाट सकारात्मक सहमति आयो । निर्वाचन गराउन आयोग बढोस् भन्नुभयो । सरकारले निर्वाचनको मिति घोषणा गरेर माहोल बनिरहेकाले निर्वाचनको विकल्प छैन भनेर हामीले भन्यौँ । दल र आयोगको बिचमा अगाडि बढ्ने सहमति भयो । निर्वाचनको विकल्प छैन भन्नेमा सबैको सहमति छ,’ उनले भने ।
१३ दल दर्ताका लागि निवेदन
निर्वाचन आयोगले चुनावको तयारी अगाडि बढाएसँगै नयाँ दल दर्ताका लागि १३ वटा निवेदन दर्ता भएका छन् । निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताका लागि समय दिएको छ । आयोगका सूचना अधिकारी सुुमन घिमिरेले बिहीबारसम्म १३ वटा दल दर्ताका लागि निवेदन आएको बताए । उनका अनुसार बिहीबार मात्रै बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सदस्य रहेको गतिशील लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन आएको छ । पार्टीको अध्यक्षमा दिनेशराज प्रसाईं, महासचिवमा धनबहादुर तामाङ (राजनीति), पीयूष कायस्थ (संगठन), गौरव परियार (सुशासन), अनमिका चौधरी (उद्यमशीलता), शान्ति गुरुङ (समता) र कोषाध्यक्षमा अजित थापामगर छन् । पार्टीको चुनाव चिह्न दीपज्योति रहेको छ ।
यसअघि धरानका मेयर हर्कराज राई (साम्पाङ)ले श्रम संस्कृति पार्टी गठन गरेर दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनको चुनाव चिह्न माटोको ढिस्को रहेको छ । यसैगरी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी गठन गरेर दर्ताका लागि निवेदन दिएका छन् । चुनाव चिह्ज जेन–जीको जुत्ता राखेका छन् । काभ्रेका ज्ञानेन्द्रकुमार तामाङले उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बलेको चिम चुनाव चिह्न रहेको छ । यी चार दलले जेन–जी आन्दोलनपछि निवेदन दिएका हुन् । त्यसअगाडि मंगोल नेसनल अर्गनाइजेसन– डा. गोपाल गुरुङ, किराँत मोर्चा नेपाल, नेपाल गाउँसहर जागरण दल, स्वतन्त्र युवा पार्टी, नेपाल समृद्धि पार्टी, विद्यार्थी शक्ति अभियान पार्टी, रामराज्य परिषद्, अखिल नेपाल हिन्दु महासभा, नेपाली पार्टी दर्ताका लागि निवेदन आएको सूचना अधिकारी घिमिरेले बताए ।