जेन–जी प्रदर्शनपछि कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ, अझै २५२ फरार

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

जेन–जी प्रर्दशनका क्रममा जिल्ला कारागार कार्यालय कास्कीबाट भागेका ८१ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालय समेतबाट खटिएको प्रहरीले खोजतलासका क्रममा उनीहरू पक्राउ परेका कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताए । 

फरार कैदीबन्दी तथा थुनुवाहरुलाई कारागार व्यवस्था विभागबाट २० असोजभित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेकोमा तोकिएको समयभित्र नफर्किएपछि खोजतलासमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बस्नेतले जानकारी दिए ।

पक्राउ गरिएका कैदीबन्दीमा चोरी मुद्दाका २५ जना, जबर्जस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुघाका १६ जना, ज्यान मार्ने उद्योग मुद्दाका नौजना, कर्तव्य ज्यान मुद्दाका आठजना, अभद्र व्यवहार मुद्दाका चारजना, सवारी अंगभंग मुद्दाका एकजना,  कुटपिटबाट अंगभंग मुद्दाका एकजना र मानव वेचविखन मुद्दाका एकजनालाई रहेको र उनीहरूलाई कारागार कार्यालयमा बुझाएको बस्नेतल जानकारी दिए । 

कास्की कारागारमा ७७३ कैदीबन्दी तथा थुनुवाहरू रहेकोमा तीमध्ये ५२१ कैदीबन्दी तथा थुनुवा कारागारमा फर्किइसकेका छन् भने अझै २५२ जना फरार रहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार