कामना सेवा विकास बैंकले विशिष्ट बचत खाताअन्तर्गत नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गरेको छ । यो सुविधा विशेष गरी व्यस्तताका कारण बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकका लागि प्रत्यक्ष रूपमा फाइदाजनक हुने बताइएको छ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवामा ग्राहकले नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधा घर वा कार्यालयमै बसी प्राप्त गर्न सक्नेछन् । यी सुविधा नि:शुल्क रूपमा प्रदान गरिने बैंकको भनाइ छ ।
सेवा सुचारु गर्न बैंकको मोबाइल बैंकिङ एपमार्फत अनुरोध गरेपछि बैैंकका प्रतिनिधिले अनुरोध गरिएको स्थान सम्मनै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाइएको छ ।
बैंकका अनुसार यो सुविधा नेपालकै पहिलो हो । केही विकसित देशमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहे पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको बैंकका प्रमुख मार्केटिङ अधिकृत दीपेन्द्र सुवेदीले बताए ।
सुवेदीका अनुसार यो डिजिटल प्रविधिमा आधारित डोरस्टेप बैंकिङ सर्भिस सुरुवात गरिएको हो । दैनिक रूपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकका लागि यो सुविधा अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै बसेर बैंककाका सुविधा उपभोग गर्न सकिनेछ । साथै, बैंकको लकर सुविधा, एटिएम डेबिट कार्ड, मोबाइल बैंकिङ सुविधासमेत नि:शुल्क रहेको बैंकको भनाइ छ । हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको छ ।