तोलाकै साढे दुई लाख पुग्दा पनि नेपालीको सुनमोह उत्तिकै चुलिँदो छ । यो वेला खासगरी काँचो सुन किन्नेहरू बढिरहेका छन् । असोजमा मात्रै चार सय किलो सुन आयात गरेकामा ९३ किलो मात्रै मौज्दात भएपछि थप आयातको तयारी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । मंगलबार एकैपटक आठ हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधबार त्यो थप चार सय रुपैयाँले बढेर नयाँ विन्दुमा पुगेको हो । सोमबार भने सुनको मूल्य दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।
भदौ मसान्तमा सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार दुई सय रुपैयाँ थियो । त्यसअनुसार असोजको २९ दिनमा मात्रै सुनको मूल्य ३३ हजार सात सय रुपैयाँले बढेको छ । यसरी मूल्य बढ्दा पनि सुनको माग भने घटेको छैन । आजभन्दा ६ वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६० हजार हाराहारी थियो । ०७६ असारसम्म सुनको मूल्य उक्त रेन्जमा थियो । विभिन्न घटनाक्रमले त्यो मूल्य बढ्दै अहिले साढे दुई लाख रुपैयाँनजिक पुगेको छ । तर, अहिले भने सुनको माग पनि उच्च भएको छ ।
महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले सुनको माग बढेको बताए । ‘अहिले सुनको मूल्य उच्च छ । त्यससँगै खपत पनि राम्रो छ । महँगो भयो भनेर मागमा कमी आएको छैन । माग बढेको छ, त्यसमा पनि सुनका गरगहनाभन्दा पनि काँचो सुन खरिद गर्न आउने ग्राहक धेरै छन्,’ उनले भने, ‘सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । त्यसले गर्दा ग्राहकले अहिले नै सुन खरिद गरेर राख्न खोजेका छन् ।’ नेपालमा सर्वसाधारणलाई काँचो सुन किन्ने कानुनी अधिकार नभए पनि आन्तरिक रूपमा यस्ता कारोबार भइरहेको व्यवसायीहरू बताउँछन् ।
यता नेपाल बैंकर्स संघको तथ्यांकले पनि सुनको खपत बढेको देखाउँछ । संघका अनुसार असोजमा मात्रै चार सय केजी सुन आयात गरिएको छ । त्यसमा अहिले ९३ केजी मात्रै सुन स्टकमा छ । साथै, वाणिज्य बैंकहरूले थप सुन आयात गर्ने प्रक्रिया अघि बढाएका छन् । नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ ।
बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले व्यवसायीबाट सुनको माग उच्च रहेको बताए । ‘व्यवसायीले बजारमा सुनको माग छ भन्दै आउनुभएको छ । हामीले त्यहीअनुसार आयात गरेर आपूर्ति गर्दै आएका छौँ,’ उनले भने, ‘असोजमा मात्रै चार सय केजी सुन आयात गरिएको छ । त्यसमा अब हामीसँग ९३ केजी सुन बाँकी छ । थप सुन आयात गर्ने तयारी बैंकहरूले गरिरहेका छन् । अब असोजमा आयात गर्न पाउने सुनको कोटा दुई सय केजी हाराहारी छ । त्यसअन्तर्गत असोजमै सुन आयात गर्ने तयारी छ ।’
अहिले अचानक रूपमा सुनको माग बढेको उनले बताए । ‘विगतका महिनामा सुनको माग थिएन । अहिले असोजमा सुनको माग अचानक बढेको छ,’ उनले भने, ‘मागअनुसार पुग्ने गरी आयात गर्छाैँ ।’
गत साउन र भदौमा दुई सय एक केजी मात्रै सुन आयात भएको थियो । असोजमा भने थप चार सय केजी सुन आयात गरिएको छ ।
यसअघि नेपालमा दैनिक २० केजी सुन आयात गर्न पाउने सीमा थियो । त्यसमा नेपाल राष्ट्र बैंकले गत २४ असोजमा त्यो सीमा बढाएर २५ केजी पुर्याएको छ । यद्यपि, विगतका दिनमा २० केजीकै अनुपातमा पनि सुन आयात हुने गरेका थिएन । त्यो अवस्थामा कोटा बढाउनुलाई अस्वाभाविक रूपमा लिइएको छ । यद्यपि, सुन आयात पनि बढेको छ ।
सुन अब सर्वसाधारणको पहुँचभन्दा बाहिर, नेपालीको वार्षिक आम्दानीभन्दा एक तोला सुनको मूल्य धेरै
अर्थविद् तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सुन सर्वसाधारण नेपालीको पहुँचभन्दा बाहिर गएको बताए । अब आमनेपालीले सुन किन्न नसक्ने उनको भनाइ छ ।
‘अहिले मूल्य बढ्दा पनि सुनको खपत भएको देखिन्छ । केही हुनेखानेले व्यक्तिगत लगानीका रूपमा सुन किनेको हुन सक्छ । त्यसले व्यक्तिगत रूपमा फाइदा भए पनि अर्थतन्त्रमा कुनै योगदान गर्दैन,’ उनले भने, ‘सुन नेपालीको संस्कृतिसँग पनि जोडिएको छ । तर, अब सर्वसाधारण नेपालीले सुन किन्न सक्ने अवस्था रहेन ।’
राष्ट्रिय तथ्यांक कार्यालयको असारसम्मको तथ्यांकअनुसार अहिले नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी दुई लााख ६ हजार ४२४ रुपैयाँ छ, प्रतितोला सुनको मूल्य त्योभन्दा धेरै छ । बुधबारका लागि तोकिएको सुनको मूल्य एक नेपालीले वर्ष दिनमा कमाउने औसत रकमभन्दा ४२ हजार ४७६ रुपैयाँ धेरै हो । योअनुसार पनि अब न्यून आय भएका आमनेपालीले सहज रूपमा सुन किन्न नसक्ने देखिन्छ ।
सुन नेपालमा संस्कृतिको रूपमा पनि प्रयोग हुन्छ । धार्मिक तथा सामाजिक गतिविधिमा यसको प्रयोग गरिन्छ । यद्यपि, नेपालमा यसको प्रयोग विकृतिका रूपमा पनि मौलाएको छ । कतिपय मानिसले आफूलाई धनी देखाउन सुनका गरगहना लगाउने गर्छन् । कतिपय सुरक्षित लगानीका लागि पनि सुन खरिद गर्छन् । अहिले सुन खरिद गर्नेमा सर्वसाधारणभन्दा धनाढ्य वर्गका मानिस रहेको जानकारवालाहरू बताउँछन् ।
यद्यपि, सुनको मूल्य बढ्दैमा आममानिसको जनजीवन प्रभावित भने हुँदैन । यो अनिवार्य नभएर स्वैच्छिक वस्तु हो । चामल, तेलजस्ता खाद्यान्न वस्तुको मूल्य बढ्दा मानिसको जनजीवन तत्काल प्रभावित हुन्छ । पेट्रोल, यातायात, इन्टरनेटजस्ता सेवाको मूल्य बढ्दा पनि मानिसको जनजीवन प्रभावित हुन्छ । यसैगरी अन्य वस्तु तथा सेवाको मूल्य बढ्दा पनि मानिसलाई जीवनयापनमा चुनौती हुन्छ । तर, सुनको मूल्य बढ्दैमा मानिसको दैनिक जीवनयापनमा भने कुनै असर गर्दैन ।
किन बढेको छ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यका आधारमा नेपालमा सुनको बिक्री मूल्य निर्धारण गरिन्छ । महासंघले युएईमा कायम हुने मूल्यका आधारमा हरेक दिन यसको बिक्री मूल्य तोक्छ । अहिले विश्व राजनीति र अर्थतन्त्रमा अनिश्चितता छ । अमेरिकाले विश्व अर्थतन्त्र नै प्रभावित हुने गरी ‘अनप्रेडिक्टेबल’ करनीति ल्याइरहेको छ । अमेरिकी केन्द्रीय बैंकले समेत ब्याजदर घटाउन लागेको छ । विभिन्न देशमा युद्ध भइरहेको छ । यसरी आर्थिक रूपमै अनिश्चितता देखिएपछि विश्वबजारका ठुला–ठुला लगानीकर्ताले डलर, मुद्दती निक्षेपलगायतका क्षेत्रमा गरेको लगानी फिर्ता लिएर सुनमा लगानी गरेका छन् । अधिकांश मुुलुकका केन्द्रीय बैंकले समेत डलरको सट्टा सुन किनेर होल्ड गरेका छन् । भारत, चीन र रसियाजस्ता ठुला मुलुकले अमेरिकी डलर कमजोर बनाउने रणनीतिअनुरूप सुन किनेर होल्ड गरेका छन् । यी यस्ता कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । त्यसपछि नेपालमा पनि स्वत: यसको मूल्य बढेको छ ।
यसरी तोकिन्छ सुनको मूल्य ?
नेपालमा विशेष गरी युएई, लन्डन, अमेरिकालगायतका बजारमा कायम सुनको मूल्यको आधारमूल्य तोकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ०४४ देखि सुनको मूल्य निर्धारण गर्दै आएको छ । पहिला सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य र नेपालमा कायम डलरको मूल्यलाई एक–आपसमा गुणन गरिन्छ । त्यसरी आउने रकममा बैंकको आयात खर्च (ढुवानी, बिमाशुल्क, सुरक्षा खर्चलगायत) जोडिन्छ । साथै, नेपाल सरकारको लिने राजस्व पनि त्यसमा समावेश गरिन्छ । अहिले सरकारले यसको आयातमा १० प्रतिशत भन्सार लिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव भएको अवस्थामा प्रिमियमसमेत जोडिन्छ । त्यसरी आउने मूल्यमा बैंक र व्यवसायीका लागि थप ०.५–०.५ प्रतिशत नाफा राखेर सुनको अन्तिम मूल्य निर्धारण गरिन्छ ।