भैरहवाका उद्योगी व्यावसायीहरूले जेन–जी आन्दोलनपछि शान्ति सुरक्षा र व्यवसायमा प्रतिकुल असर परेको बताएका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघले बुधबार आयोजना गरेको ‘खुला सिमाना तथा शान्ति सुरक्षा’ विषयक अन्तरक्रियामा सहभागी उद्योगी व्यावसायीहरूले जेन–जी आन्दोलनपछि शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै जानुले पर्यटन व्यावसाय थला परेको र उद्योग व्यावसायमा समेत नकारात्मक असर देखिन थालेको बताए ।
‘जेन–जी आन्दोलनपछि पर्यटन व्यावसाय थला परेको छ,’ सिद्धार्थनगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्माले भने, ‘६ महिना कमाउने र १२ महनिा सरकारलाई कर तिरेर बस्ने पर्यटन व्यावसाय संकटको अवस्थामा छ ।’ खुला सिमानाको प्रयोग गर्दै भारतबाट अवैध व्यापार तथा कारोबार बढ्न थालेकाले स्वदेशी व्यवसाय पनि झनझन संकटमा पर्दै जान थालेको सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आर्चायले बताए । आन्दोलनपछि खुला सिमानाको प्रयोग गर्दै हुने तस्करी तथा दुई नम्बरी कार्य बढ्न थालेकाले दिपावली पर्वको मुखमा पनि स्वदेशी बजारमा रौनकता आउन नसकेको उनको भनाइ छ ।
पछिल्लो आन्दोलनपछि सुरक्षा निकायको मनोबल घटेको महसुस गरेको उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले बताए । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति साघुँरिदै जान थालेको व्यावसायीहरूले महसुस गरेको कार्यक्रमका सहभागीहरूले बताए । आन्दोलनको वेला तोडफोड र आगजनी गर्दै आतंक मच्चाउने विरुद्धमा सुरक्षा निकाय कार्वाही प्रकृयामा जानु पर्ने सहभागीहरूको जोड थियो ।
संघका पूर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले जेन–जी आन्दोलनको बेलामा भैरहवामा शान्ति सुरक्षाको योजना नबनाइदा धेरै क्षेति भोग्नु परेको बताए ।
आन्दोलनपछि सुरक्षाको विषयलाई लिएर व्यवसायीको आत्मबल घटेको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समिति सभापती राजेश अग्रवालले बताए । चोरी तस्करी गर्ने व्यवसायीलाई संघले कुनै पनि हालतमा समर्थन नगर्ने भएकाले त्यस्ता तस्करलाई कानुनअनुरुप कडा कारवाही गर्न सुरक्षा निकायलाई संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आग्रह गरे ।
रुपन्देहीका सुरक्षा निकायका प्रमुखले भने शान्ति सुरक्षाको व्यवस्था रुपन्देहीमा सुदृढ बन्दै गैरहेको दावी गर्दै ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले रुपन्देहीको शान्ति सुरक्षाको अवस्था राम्रो र नियन्त्रणमा रहेको दाबी गरे । उनले परिस्थितिलाई बिश्लेषण गरी जिल्लाको सुरक्षा योजना बनाएकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न आग्रह गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले खुला सिमानाबाट हुने तस्करीका बारेमा व्यवसायीबिच खुलेर समीक्षा गर्न आग्रह गरे । उनले भारतबाट भन्सार छलेर ल्याउनेमाथि भन्सार कर्मचारीले रोक्न खोज्दा जेन–जीको नामबाट धम्की दिने गरेको सुनाए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले जेन–जी आन्दोलनको वेलामा सुरक्षा निकायले विवेक पुर्याएका कारण रुपन्देहीमा धेरै क्षति हुन नपाएको दावी गरे ।