विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जितपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
विराटनगरबाट धरान हुँदै धनकुटाको महालक्ष्मी नगरपालिकातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस बुधबार बिहान ११ः४५ बजेतिर धनकुटा नगरपालिका–३ निगालेमा दुर्घटना भएको थियो। दुर्घटनामा परी महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिए।
दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते हुनेमा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी नगरपालिका–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका–८ की १७ वर्षीया खुशी लुंगेली, मोरङको सुन्दरहरैँचा गाउँपालिका–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी नगरपालिका–७ की सृजना जिमी रहेका छन्।
घाइते सबैजनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। उकालो बाटोमा टायर पड्किएर बस सडकमा पल्टिएको थियो। बसमा ३० जना यात्रु सवार रहेका थिए। बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्रामका ५० वर्षीय कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको पनि बायाँ हातमा चोट लागेको प्रहरीले बताएको छ।