संखुवासभाको खाँदबारी–किमाथांका कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–३ समाटार र अल्फटेमा बिग्रिएको सडक तिहारअघि नै खुल्ने भएको छ।
लगातारको वर्षाका कारण समाटार र अल्फटेमा पहिरोले सडक बिगारेपछि खाँदबारी–किमाथांका सिधा यातायात बन्द भएको करिब डेढ महिनाभन्दा बढि भयो। सिधा यातायात बन्द भएपछि भोटखोला र मकालु गाउँपालिकाबासीहरु मारमा परेका भोटखोलाका स्थानीय पासाङ खम्बाले बताए। उनले तत्काल सडक खुलाई यायातात सेवा सुचारु गर्नुपर्ने बताए।
मकालु गाउँपालिका र भोटखोला गाउँपालिकाका स्थानीय बासिन्दाहरुले सरोकारवाला निकायहरुसमक्ष छिटोभन्दा छिटो सडक खुलाउन माग गरेका छन्। दशैंमा नखुलेको सडक तिहारमा खुल्ने आशा गरेको खम्बाको भनाइ छ।
उत्तरदक्षिण कोशी सडक कार्यालयका प्रमुख इन्जिनियर रामबहादुर गुरुङले तिहारभन्दा अगाडी सडक खुलाइने बताए। उनले दशैंअघि नै सडक खुलाउन प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेको हुँदा नसकिएको र अब वर्षा हुने क्रम रोकिएकाले तिहारअघि नै सडक खुल्ने बताए।
‘अहिले हाम्रो मुख्य काम नै सडक खुलाउने उद्देश्य बोकेर सबै जनशक्ति सोही ठाउँमा परिचालन गरिएको छ। काठमाडौंबाट विज्ञ टोली आज (बुधबार) मात्रै खाँदबारी आइपुग्नु भएको छ। टोली लिएर म आफैँ भोलि (बिहीबार) विहान समाटार जाने कार्यक्रम तय भएको छ,’ गुरुङले भने, ‘समाटार र अल्फटेको भौगोलिक अवस्था अत्यन्तै कमजोर छ। माथिबाट पहिरो खसिरहने जमिनमुनी ढुङगाको पहरा छ भने सबैतिर पानी उम्रिने ठाउँ दलदल छ। सडक भासिएको छ, तलबाट वाल दिँदा समेत थेग्ने अवस्था छैन। मुनीबाट अरुण नदी छ, अहिले सोही ट्रयाकलाई अलि माथिदेखि काटेर सडक बनाउने प्रयास भइरहेको छ। पानीलाई पाइपले तानेर जमिनमुनीबाट बाहिर निकाल्ने प्रयास भइरहेको छ।’
खाँदबारी–किमाथांका सडकको मुख्य समस्या नै समाटार र अल्फटे भएको कार्यालयका प्रमुख गुरुङको भनाइ छ। समाटार र अल्फटेमा करिब २५० मिटर जति सडक माथिबाट पहिरो खसेको छ र सबै दलदल छ। सडक दलदल भएकाले यातायातको सवारीसाधान तार्न नै नसकिने भएको कार्यालयका प्रमुख गुरुङ बताउँछन्। उक्त सडकका कारण सडक माथिका केही घरहरु समेत उच्च जोखिममा परेको सडक कार्यालयको भनाइ छ।
२०६५ सालमा सदरमुकाम खाँदबारीमा कार्यालय स्थापना भई खाँदबारी–किमाथांका राजमार्ग उत्तरदक्षिण कोशी सडक कार्यालयले हेर्दै आएको छ। खाँदबारीदेखि किमाथांकासम्म १६२ किमि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएपनि भोटखोलाको शंखेभीर र गोङगाप्पा चट्टान फोडेर बनाएको ट्रयाकबाट सवारीसाधान जान नसक्ने कार्यालयको भनाइ छ। यस बर्ष भने उक्त सडकखण्डको स्तरोन्नती गरी दोहोरो सवारी आवातजावत गर्ने बनाइने कार्यालयका प्रमुख गुरुङको भनाइ छ।
‘समाटार र अल्फटेको सडकको दलदल मर्मत भएपछि किमाथांकासम्म सिधा यातायात जोडिन्छ। बरुण नदीमा पुल नहुँदा समस्या थियो, अब पुल निर्माण सम्पन्न भइसकेकाले केही दिनपछि सवारी साधान चलाउन सकिन्छ,’ गुरुङले भने।