चितवनको रत्ननगरमा एउटा दाना उद्योगको पर्खाल भत्किँदा तीनजना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका– १२, शान्तिगुञ्ज टोलस्थित किसान दाना उद्योगमा बुधबार बिहान उद्योगको दाना नं. ४ को वाल भत्किँदा तीनजना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका– २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर– १२ बस्ने ५४ वर्षीय रेशम दमाईं र रत्ननगर– १२ का ४५ वर्षीय कमल गुरुङ छन् । यस्तै, घाइते हुनेहरूमा पर्सा घर भई हाल रत्ननगर १२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारू रहेका छन् । दुवैजनाको हातखुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
प्रहरी चौकी पञ्चकन्याका अनुसार बिहान करिब ९ः५० बजे पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँचजना मजदुर पुरिएरका थिए । गम्भीर घाइते भएका तीनजनाको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
घटनापछि प्रहरी चौकी पञ्चकन्याबाट प्रहरी नायब निरीक्षक शिवदास श्रेष्ठको कमान्डमा टोली तथा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी निरीक्षक जय नेपाल थापाको कमान्डमा थप टोली खटिएको थियो । उद्योग व्यवस्थापक विष्णुहरि तिमल्सिना घटनास्थलमा उपस्थित रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।