फ्रान्सको राजनीतिक संकटको जड अति शक्तिशाली राष्ट्रपति पद

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण
  • संविधानअनुरूप कुनै ‘चेक एन्ड ब्यालेन्स’ नभएको पदमा बसेर म्याक्रोँले देशलाई थप ध्रुवीकृत गरिदिए

गत साता आफ्नो पदबाट राजीनामा दिएका फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नु चार दिनपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँबाट पुन: सोही पदमा नियुक्त गरिए । लेकोर्नुले अहिले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । तर, म्याक्रोँ अधीनस्थ यो सरकार आगामी संसदीय बैठकसम्म टिक्न सक्नेमा थोरैको मात्र विश्वास छ । 

अहिले फ्रान्सले जे भोगिरहेको छ, त्यो कुनै आम संसदीय संकट होइन । यो त गम्भीर संवैधानिक संकट हो । तत्कालीन राष्ट्रपति चार्ल्स डी गालले परिकल्पना गरेको कार्यकारी प्रधानता कार्यान्वयन गर्न फ्रान्सेली राष्ट्रपतिलाई झन्डै अर्ध–राजतन्त्रात्मक रूप दिइयो । सन् १९५८ देखि लागू पाँचौँ गणतन्त्र भनिने यस शासन प्रणालीले अब काम गर्न छाडेको छ । यसैले गर्दा त्रिशंकु संसद्, गम्भीर वित्तीय संकट र अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा अहिले फ्रान्सेली राज्य पक्षाघातग्रस्त बनेको छ ।

वर्तमान संकटको केन्द्रमा देशको राष्ट्रपति कार्यालयको प्रकृति र वर्तमान सत्ताधारीको राजनीति नै रहेको छ । जस्तो– गत वर्ष जुन महिनामा युरोपेली चुनावमा पराजित भएपछि, म्याक्रोँले संसद् विघटन गरे र तुरुन्तै चुनावको घोषणा गरे । त्यस गैरजिम्मेवार कदमले अभूतपूर्व लोकप्रिय स्थितिमा पुगेको अति दक्षिणपन्थीलाई झन्डै सत्तामा पुर्याएको थियो । तर, आन्तिम समयमा हतारहतारमा बनेको वामपन्थी गठबन्धन र रणनीतिक मतदान अभियानले मरिन ल पेनको नेसनल र्यालीले आमअपेक्षाअनुरूपको मत पाउन सकेन । 

तर, अन्य कुनै पनि राजनीतिक समूहले पनि बहुमत सिट प्राप्त गर्न सकेनन् । तथापि, सबैभन्दा ठुलो राजनीतिक समूहको रूपमा उदाएको मध्यवामपन्थी समूहको सरकार बनाउन पाउनुपर्ने मागलाई म्याक्रोँले अस्वीकार गरे । त्यस क्रममा उनले आमलोकतान्त्रिक अभ्यास र संसदीय अंकगणितलाई लत्याएका थिए । बरु, उनले एकपछि अर्को मध्यपन्थी र रुढिवादी नेतालाई अल्पसंख्यक सरकारको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त गर्न थाले । 

पूर्वप्रधानमन्त्री मिसेर बार्नियर र फ्रान्वा बायरोले नसकेको बजेट पारित गर्ने काम अहिले म्याक्रोँका घनिष्ठ सहयोगी लेकोर्नुले सक्लान् भनेर कल्पना गर्न गाह्रो छ । यस्तोमा संसद्को नयाँ चुनाव अपरिहार्य देखिन्छ । यसबिच राष्ट्रपतिको राजीनामाको माग अब उग्र वामपन्थी र उग्र दक्षिणपन्थीमाझ मात्र सीमित रहेन । यहाँसम्म कि म्याक्रोँका दुई पूर्वप्रधानमन्त्री बार्नियर र बायरो नै सो भिडमा सामेल भए । यद्यपि, म्याक्रोँ २०२७ अघि पद त्याग्न बाध्य भने छैनन् । 

संसद्को अर्को चुनावबाट त्रिशंकु संसद् नै बन्न सक्छ । बाँकी युरोपमा गठबन्धन सरकार आमअभ्यास छ । तर, फ्रान्सको शासन कहिल्यै पनि गठबन्धन शासनलाई ध्यानमा राखेर बनाइएको थिएन । गठबन्धनबाहिर विकल्प नदेखिने र वर्तमान व्यवस्थाले त्यसलाई नस्विकार्ने अवस्थामा अहिलेको पाँचौँ गणतन्त्र आफ्नो अन्तिम चरणमा प्रवेश गरिसकेको हुन सक्छ । खासमा म्याक्रोँवादी राजनीतिक परियोजनाजस्तै पाँचौँ गणतन्त्रको विघटन यसको जग हाल्लिएकै समयमा सुरु भइसकेको थियो । 

पूर्ववर्ती होल्यान्डले शासन छाड्दा देशको मूल्य र उद्देश्यमाथि शंका देखिन्थ्यो । राजनीतिक रूपमा कमजोर बनेका होल्यान्ड दोस्रो कार्यकालमा उठेनन् । समाजवादीहरूले कमजोर उम्मेदवारलाई मैदानमा उतार्ने भनेपछि वामपन्थी विभाजित हुने अवस्था सिर्जना भयो । उता अर्को प्रमुख दलमा सार्कोजीका उत्तराधिकारीले यसबिच अर्को भ्रष्ट राजनीतिज्ञलाई आफ्ना नेता चुनेका थिए । छिटै तिनको चुनावी अभियान कमजोर बन्दै गयो । 

फ्रान्सेली राजनीतिक परिदृश्य सबै विचारमा लोकप्रियतावाद हाबी भएको समयलाई त्यतिवेला ३९ वर्षका म्याक्रोँले चलाखीपूर्वक आफ्नो फाइदामा उपयोग गरे । उनले असन्तुष्ट जनमतको ठुलो हिस्सालाई आफ्नो इच्छाहरू प्रक्षेपण गर्न मिल्ने खाली क्यानभास दिए । त्यसैले, अधिकांश मतदाताले परम्परागत वामपन्थी र दक्षिणपन्थी दललाई परित्याग गरेर म्याक्रोँ रोजे । दोस्रो चरणको चुनावमा म्याक्रोँको प्रतिस्पर्धी ल पेन भइन् । उनी म्याक्रोँको प्रतिभासामु कमजोर देखिइन् । म्याक्रोँ विजयी भए । तर, सत्तामा आएपछि धेरै परिवर्तनकारी हुने आशा गरेका म्याक्रोँ उही पुरानो जमानाको विचार भएको अर्को युवा साबित भए ।  

संविधानअनुरूप कुनै पनि ‘चेक एन्ड ब्यालेन्स’को सामना गर्नुनपर्ने पदमा बसेर म्याक्रोँले देशको राष्ट्रपतीय शासनलाई विभाजनकारी संस्था बनाइदिए । थोरै मात्र लोकतान्त्रिक प्रणाली फ्रान्सको राष्ट्रपति पद जसरी बनाइएको होला, जसले वैध राजनीतिक महत्वाकांक्षालाई ‘नार्सिसिस्ट’ व्यक्तित्व विकारमा परिणत गरिदिन्छ । ‘यल्लो भेस्ट’ संकटदेखि नै सार्वजनिक चिन्ता सम्बोधन गर्न असमर्थ म्याक्रोँले निरन्तर प्रतिनिधि संयन्त्र र नागरिक समाज संगठनलाई बेवास्ता गर्दै आएका छन् । सन् २०२२ मा विभाजित विपक्षका कारण उनी पुन: दोस्रो चरणमा पुग्न सफल भए । त्यसमा फेरि ल पेन उनका प्रतिद्वन्द्वीका रूपमा आइन् । ल पेनको आगमनले लोकतन्त्रमाथि संकट निम्त्याउने चिन्ताले फेरि मतदाताले उनलाई जिताउन सघाए । तर, म्याक्रोँले अहिले आफ्नो सरकार र असफल शासनलाई आफूसँगै ढल्ने अवस्थामा पुर्याएका छन् ।

लेखक वारविक विश्वविद्यालयका फ्रान्सेली इतिहासकार हुन् । 
गार्जियनबाट

सुझावित समाचार