- यो आक्रमण सन् २००९ मा फिलिपिन्समा मागुइन्डानाओ नरसंहारपछि पत्रकारविरुद्ध दोस्रो ठुलो हमला भएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे)ले जनाएको छ
गत सेप्टेम्बरमा यमनको एक अखबार कार्यालयमा इजरायली आक्रमण हुँदा ३१ पत्रकार र मिडिया कर्मचारी मारिएको खुलासा भएको छ । सो आक्रमण पछिल्लो १६ वर्षमा पत्रकारमाथि भएको सबैभन्दा घातक आक्रमण भएको ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे)ले जनाएको छ ।
सेप्टेम्बर १० मा इजरायलले यमनको राजधानी सानामा रहेको एक अखबार परिसरमा हवाई आक्रमण गरेको थियो । आक्रमणस्थल तीनवटा हुथीसम्बद्ध मिडिया प्रकाशनको प्रकाशन कार्यालय थियो । बम खस्दा यमनी सेनाको प्रेस शाखाका सदस्यले साप्ताहिक छापा संस्करण छापेर भर्खर सकाएका थिए, जसले गर्दा मारिने पत्रकारको संख्या बढेको प्रकाशनका प्रधान सम्पादकले जानकारी दिए ।
इजराली हवाई आक्रमणबाट बम खसेको समय पत्रकारसँगै कार्यालयमा आएका एक बच्चासहित कम्तीमा ३५ जनाको मृत्यु भएको थियो । त्यस्तै, १३१ जना घाइते भएको हुथी नेतृत्वको स्वास्थ्य मन्त्रालयले पछि बताएको थियो । मारिने सबै पत्रकार या त हुथीसम्बद्ध ‘२६ सेप्टेम्बर’ नामक अखबार वा ‘यमन’ नामक पत्रिकासँग आबद्ध थिए ।
यस आक्रमणको हताहतीलाई सन् २००९ मा फिलिपिन्समा मागुइन्डानाओ नरसंहारपछि पत्रकारविरुद्ध भएको दोस्रो सबैभन्दा घातक बताइएको छ ।
‘यो एक क्रूर र अनुचित आक्रमण हो । ती निर्दोष मानिसलाई लक्षित गरियो, जसको एक मात्र अपराध मिडिया क्षेत्रमा काम गर्नु थियो । उनीहरूसँग कलम र शब्दबाहेक अरू केही थिएन,’ ‘२६ सेप्टेम्बर’ नामक पत्रिकाका प्रधान सम्पादक नासेर अल–खादरीले सिपिजेलाई भने ।
सशस्त्र समूहसँग आबद्ध मिडियामा काम गर्ने पत्रकार वा मिडियाकर्मी प्रत्यक्ष आक्रमणमा संलग्न नभएसम्म तिनको हत्या गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनविरुद्ध मानिन्छ ।
इजरायली सेनाले भने आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै सानास्थिति ‘सैन्य निसाना’लगायत मनोवैज्ञानिक आतंक सिर्जना गरिरहेको हुथी जनसम्पर्क विभाग ध्वस्त बनाएको बताएको थियो ।
इजरायलमाथि हुथीहरूको आक्रमणको बदलामा इजरायलले समय–समयमा हवाई आक्रमण गर्दै आएको छ । हुथीहरूले गाजामा इजरायली आक्रमण चलिरहँदा प्यालेस्टिनीप्रति ‘ऐक्यबद्धता’ देखाउन समय–समयमा आक्रमण गर्ने गरेका थिए । तथापि, हुथीहरूले गाजामा द्वन्द्व सुरु भएदेखि नै इजरायलमा हान्ने गरेका क्षेप्यास्त्रले मानवीय क्षति पुर्याएका छैनन् । तथापि, लाल सागर क्षेत्रमा भने उसले जहाजहरूको आवागमनलाई भने प्रभावित बनाइदिएको छ ।
सिपिजेले यमनमा भएको आक्रमण इजरायलले मध्यपूर्वभरि मिडियाकर्मीलाई मार्ने र पत्रकारलाई योद्धाको रूपमा चित्रण गर्दै हत्या गर्ने प्रवृत्तिकै निरन्तरता भएको बताएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका अनुसार ७ अक्टोबर २०२३ देखि इजरायलले गाजामा कम्तीमा २४८ पत्रकारलाई मारिसकेको छ ।
द गार्जियनबाट