गाजापट्टीस्थित हमासको कब्जाबाट इजरायली सेनाले मंगलबार प्राप्त गरेका चार शवमध्ये एउटा नेपाली नागरिक विपिन जोशीको पुष्टि भएको छ । इजरायलको तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनमा मंगलबार भएको डिएनए परीक्षणका क्रममा विपिनको शव पुष्टि भएको हो ।
इजरायल सरकारले यसबारे औपचारिक रूपमा नै मंगलबार नेपाललाई जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ०८० असोज २३ देखि हमासको कब्जामा रहेका विपिन जोशीको मृत्यु सोमबार पुष्टि भएको थियो । हमासले विपिनको शव मंगलबार हमास नियन्त्रित गाजापट्टीबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)मार्फत इजरायली सेनालाई दिएको थियो । इजरायलमा मंगलबार शवको डिएनए परीक्षण भएको थियो । दुई वर्षअघि नै इजरायलले लिएको परिवारको डिएनए परीक्षणका आधारमा शवको डिएनए परीक्षण गर्दा विपिनको शव पुष्टि भएको हो ।
‘विपिन जोशीको शव डिएनए परीक्षणबाट पुष्टि भएको जानकारी प्राप्त भएको छ,’ इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले नयाँ पत्रिकासँग भने, ‘दुई वर्षअघि बेपत्ता भएका र घाइते भएकाहरूको परिवारका सदस्यको डिएनए परीक्षण भएको रहेछ, त्यस आधारमा विपिनको शव पुष्टि गर्न धेरै समय लागेन ।’
इजरायली अधिकारीले २०२३ को अन्तिमतिर (२०८० पुसमा) विपिनको हत्या भएको आशंका गरेका छन् । ‘विपिनले नेपाली विद्यार्थीहरूमाथि प्रहार भएको हमासको ग्रिनेड खोसेर फालेका थिए, त्यही प्रतिशोध लिनका लागि उनको हत्या भएको आशंका छ,’ इजरायली अधिकारीलाई उद्धृत गर्दै नेपाली कूटनीतिक अधिकारीले भने, ‘इजरायलीहरूले थप भनेका छैनन् ।’
सोमबार बिहान मात्रै इजरायली अधिकारीले राजदूत पण्डितको उपस्थितिमा परिवारजनसँगको भिडियो बैठकमा विपिन जीवित नभएको जानकारी दिएका थिए । इजरायलस्थित नेपालका अवैतनिक महावाणिज्यदूत नद्दाब बेन यहुदा (जो इजरायली सेनामा पनि कार्यरत छन्)ले नेपाली राजदूत पण्डित र नियोग उपप्रमुख कुमार श्रेष्ठलाई सोमबार साँझ जोशीको शव भेटिएको जानकारी दिएका थिए ।
सोमबार इजरायली सेनाले विपिनसँगै तीन इजरायली नागरिक गाई इलयगश, योसी शाराबी र डानिएल पेरेत्जको पनि शव दिएको थियो । इजरायली तीनजनाको मृत्यु भएको पहिले नै जानकारी रहे पनि विपीन जीवित नभएको जानकारी भने इजरायली सेनाले सोमबार बिहान मात्रै दिएको थियो ।
नेपाल सरकारलाई गरायो औपचारिक जानकारी
इजरायलले विपिनको मृत्युबारे नेपाललाई औपचारिक जानकारी गराएको छ । परराष्ट्रसचिव अमृतबहादुर राईलाई इजरायलको परराष्ट्र मन्त्रालयका डाइरेक्टर जनरल (समकक्षी) एडेन बार तालले मंगलबार टेलिफोनमा जानकारी दिएका हुन् ।
इजरायलका परराष्ट्रमन्त्री र नेपाली प्रधानमन्त्री सुशीला कार्कीबिच टेलिफोन कुराकानीका लागि प्रयास भए पनि अन्तिममा परराष्ट्रसचिवस्तरमा संवाद भएको एक कूटनीतिक अधिकारीले जानकारी दिए ।
‘इजरायली समकक्षीले परराष्ट्रसचिव राईलाई नेपाली नागरिक विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै मृतकप्रति इजरायल सरकारको तर्फबाट श्रद्धाञ्जली प्रकट गरेका छन् । साथै, उनले विपिनका परिवार, नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका छन्,’ परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसअघि मंगलबार दिउँसो नेपाली राजदूतावासका नियोग उपप्रमुख कुमार श्रेष्ठले तेलअभिभस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन पुगेर डिएनए परीक्षणबारे जानकारी दिएका थिए । सम्बद्ध अधिकारीले पोस्टमार्टमसहितको विस्तृत विवरण चाँडै नै उपलब्ध गराउने जानकारी दिएका छन् ।
विपिनका अमेरिकामा रहेका आमा पद्मा र बहिनी पुष्पा शुक्रबार बिहान काठमाडौं आइपुग्नेछन् । उनीहरूले आफूहरू नेपाल फर्केपछि विपिनको शव ल्याइदिन इजरायली अधिकारीसमक्ष अनुरोध गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इजरायल सरकारले विपिनको शव प्रक्रिया पूरा गरेर नेपाल ल्याइदिन तयार भएको जानकारी दिएको छ । ‘यस सम्बन्धमा केही प्रक्रियाहरू पनि बाँकी हुनाले पछि नै तय हुनेछ,’ प्रवक्ता क्षेत्रीले भने । इजरायलस्थित नेपाली राजदूतावासले सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गर्दै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछ ।
२३ असोज ०८० मा प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको लर्न एन्ड अर्न कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपालले दुई वर्षदेखि प्रयास गर्दै आएको थियो । ‘शव नेपाल ल्याइसकेपछि पनि नेपाल सरकारले विपिनको मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन, न्याय सुनिश्चित गर्न तथा परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा र अन्य सुविधाका लागि सम्बन्धित निकायहरूसँगको समन्वयमा आवश्यक पहल जारी राख्नेछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विपिनको निधनप्रति दु:ख व्यक्त गरेका छन् । ‘विपिन जोशीको निधनको खबरले म अत्यन्त मर्माहत भएको छु,’ राष्ट्रपति पौडेलले भनेका छन् । माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापालगायलते पनि विपिनको मृत्युप्रति दु:ख व्यक्त गरेका छन् ।
२४ बन्धकको शव आफन्तले पाएनन्
शान्ति सम्झौताअनुसार हमासले २८ जना मृतक बन्धकका शव फिर्ता गर्नुपर्नेमा चारजनाको मात्र फिर्ता गरेपछि इजरायली बन्धकका परिवारले असन्तुष्टि जनाएका छन् । सोही कारण इजरायली बन्धकका परिवारले अमेरिकी विशेष दूत स्टिभ विटकफलाई पत्र नै लेखका छन् । मध्यस्थहरूले हमासलाई सबै शव फेला पार्न कठिन भइरहेको बताएका छन् । तर, इजरायली सरकारले हमास समूहले पर्याप्त प्रयास नगरेको आरोप लगाएको छ । सोमबार हमासले ७ अक्टोबर २०२३ मा अपहरण गरिएका बाँकी २० जीवित बन्धकलाई मुक्त गरेको छ । इजरायलले झन्डै दुई हजार फिलिस्तिनी कैदी छाडेको थियो । सम्झौताअनुसार हमासले २८ इजरायली शव फिर्ता गर्ने र यसको सट्टामा युद्धमा मारिएका ३६० फिलिस्तिनी शव फिर्ता लिने सहमति थियो । तर, हमासले हालका बमबारीका कारण नौवटा शव भग्नावशेषमा हराएको बताएको छ । फर्काइएका चार शव तेलअभिभको अबु कबिर फोरेन्सिक संस्थानमा लगिएको छ । मंगलबार इजरायली सेनाले फिर्ता गरिएका दुई शव २६ वर्षीय गाय इलौज र २३ वर्षीय विपिन जोशीको भएको पुष्टि गरेको छ ।