सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोबाट दुईजनाको मृत्यु

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

सल्यानमा स्क्रब टाइफस र उच्च ज्वरोले दुईजनाको मृत्यु भएको छ । स्क्रब टाइफसबाट बागचौर नगरपालिका– १, कालाखेतका गजेन्द्र केसी र उच्च ज्वरोका कारण दार्मा गाउँपालिका– ३, दुवाङकी ४७ वर्षीया यनकुमारी खत्रीको मृत्यु भएको हो । दुवैको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए। 

केसीलाई गाउँघरमै औषधि सेवनपछि पनि उच्च ज्वरो नरोकिएको र श्वास–प्रश्वासमा थप समस्या भएपछि सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारका लागि आफन्तले ल्याएका थिए । लक्षणअनुसार तत्काल स्वास्थ्य परीक्षण गर्दा स्क्रब टाइफस देखिएको थियो ।

स्वास्थ्य चेकजाँचका क्रममा केसीको स्वास्थ्यमा बढी समस्या देखिएपछि नेपालगन्ज रेफर गरिएको र नेपालगन्जमै केसीको मृत्यु भएको बुढाले बताए । डा. बुढाका अनुसार जिल्लामा स्क्रब टाइफसका बिरामी बढिरहेका छन्। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ७७ जना संक्रमित भएका छन् । उनले भने, ‘७७ जनामध्ये आठजना बिरामी जटिल रहेका छन् । ती आठमध्ये दुईजनालाई थप उपचारका लागि रिफर गरिएको र रिफर गरिएका दुईजनामा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । अन्य भने ठिक भएर घर फर्किसकेका छन् ।’

रोग पहिचान नगरी ज्वरोको जथाभावी औषधि सेवन गर्दा बिरामीको ज्यान जोखिममा पर्दै आएको डा. बुढाले जानकारी गराए। लगातार केही दिनदेखि उच्च ज्वरो आउने, शरीर दुख्नेलगायतका समस्या देखिएमा जिल्ला अस्पताल सल्यान आएर रगत परीक्षणका साथै उपचार गर्न उनले जिल्लावासीलाई आग्रह गरे ।

मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो धेरैजसो झाडी, खेतबारी, वनजंगल, घरवरपरको झाडीमा देखिने हुनाले खेतबारीमा काम गर्दा वनजंगल वा झाडीमा काम गर्दा पूरा शरीर ढाकिने कपडा लगाउने, घाँसबारी वा चाैरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले टोकेको ठाउँमा रातो डाबरजस्तो दाग देखिनु र पछि कालो दाग बस्नुजस्ता लक्षण देखिने स्वास्थ्यकर्मी बताउँछन् । 

सुझावित समाचार