देशमा लगानीको वातारण निर्माणका साथै शान्ति सुरक्षामा बुटवलका उद्योगी–व्यवसायीले चासो दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२औँ वार्षिक साधारणसभामा बोल्ने उद्योगी–व्यवसायीले सधैँभरि भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको समेत असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रको मनोबल उठाउने गरी सुरक्षाको वातावरण बन्नुपर्ने धारणा राखे । कोभिड–१९ महामारी, आर्थिक मन्दी, जेन–जी आन्दोलन, वर्षाले पुर्याएको क्षतिले निजी क्षेत्रलाई असर गर्दै आएको चर्चा गर्दै उनले ऋण–धन गरी लगानी गरेर देशमा रोजगारी सिर्जना गरेका उद्योगी–व्यवसायीलाई आक्रमण गर्ने र लखेट्ने कामले देशको आर्थिक विकासमा असर पर्ने बताए ।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी तथा चोरी र लुटपाटका घटनाले निजी क्षेत्रको मनोबल गिराएको धारणा राख्दै उत्पन्न परिस्थितिलाई सहज बनाउँदै सरकारले घोषणा गरेको घोषित मितिमा चुनाव गराउने गरी तयारी हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि संघले गरेका पहल तथा प्रयासबारे जानकारी गराउँदै यस क्षेत्रको औद्योगिक विकासका लागि मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा गति दिइनुपर्ने, व्यावसायिक विकासका लागि व्यवसायमैत्री वातावरण बन्नुपर्ने बताए ।