विपन्न, असहाय र बेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीनजना जनशक्ति करार सेवामा राख्नेछ। यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ । त्यस कक्षबाट महानगरपालिकाको फ्री हेल्थ डट काठमाडौं डट जिओभीडटएनपी( https://freehealth.kathmandu.gov.np ) अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीहरूलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुनेछ ।
महानगरपालिकाले ०८० फागुन १ गतेदेखि लक्षित वर्गको निःशुल्क उपचार सेवालाई व्यवस्थापन गरिरहेको छ । महानगरपालिकामा अहिले जनस्वास्थ्य निरीक्षकले यसको संयोजन गरिरहेका छन् ।
यस उपचार सेवामा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् । लक्षित वर्गले तीनवटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त गर्नेछन् । पहिलो, विपन्न परिचयपत्र छ भने सिधै अस्पतालमा जान सकिन्छ । दोस्रो, विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रो, यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरपालिकाको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सकिनेछ । प्रमाण प्रमाणित हुन सकेमा एकाइले सिफारिस गर्नेछ ।
अहिलेसम्म सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाडजोर्नीको, नाक कान घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अप्रेसनको सुविधा लिएका छन् । यस्तै, फेमिली मेडिसिनअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजो रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसाबसम्बन्धी समस्यामा सेवा लिएका छन् ।
महानगरपालिकाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या आबद्ध छन् ।