जेन–जी आन्दोलनका घाइतेको उपचारमा एक अर्बभन्दा बढी खर्च

दुई सयभन्दा बढीमा ठुलो इन्जुरी, जेन–जी घाइतेको वर्गीकरण गर्दै स्वास्थ्य मन्त्रालय

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

२३ र २४ भदौमा जेन–जी प्रदर्शनमा घाइते भएकाको उपचारमा हालसम्म एक अर्बभन्दा बढी रकम खर्च भएको छ । सामान्य र जटिल अवस्थाका घाइतेको निजी र सरकारी अस्पतालमा उपचार गर्दा ठुलो रकम खर्च भएको हो । अस्पताल पुगेकामध्ये ६५ जनाको सघन उपचार कक्षमा उपचार भएको थियो । घाइतेको उपचारको सबै रकम स्वास्थ्य मन्त्रालयले व्यहोर्नेछ । मन्त्रालयले निजी र सरकारी स्वास्थ्य संस्थालाई पत्राचार गरी जेन–जी प्रदर्शनमा घाइते भएकाको उपचार गर्दा कुनै पनि शुल्क नलिन भनेको छ । उपचार गर्दा लागको रकम मन्त्रालयले सोझै अस्पताललाई दिनेछ ।

‘कुनै पनि घाइतेले उपचारका लागि रकम तिर्नुपर्दैन, सरकारको निर्णयअनुसार सबै मन्त्रालयले व्यहोर्छ । हालसम्म बिरामीको उपचारमा एक अर्बभन्दा बढी खर्च भएको छ । कतिपय अस्पतालले खर्चको विवरण पठाएका छन्, केहीले पठाउन बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘घाइतेमा धेरै इन्जुरी भएकाले उपचारमा धेरै समय लाग्ने र खर्च पनि धेरै हुने भइरहेको छ । अहिलेसम्म एक अर्ब खर्च भएको आकलन गरेका छौँ, तर त्यतिले मात्रै भ्याउँदैन, किनभने फलोअप र उपचार सामग्रीमा पनि धेरै खर्च भएको र फलोअपमा आउने घाइते पनि थुप्रै छन् ।’

सोमबारसम्म अस्पतालमा उपचाररत घाइतेको संख्या २४ छ । जसमा राष्ट्रिय ट्रमा सेन्टरमा १०, त्रिवि शिक्षण, वीर र केएमसीमा तीन–तीनजना उपचाररत छन् । बी एन्ड बीमा दुई, पाटन अस्पताल र नोबेल मेडिकल कलेजमा एक–एकजनाको उपचार भइरहेको बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गत बिहीबार मन्त्रालयको प्राविधिक समिति गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा जेन–जी घाइते वर्गीकरण प्राविधिक समिति गठन गरेको थियो । समितिले सोमबार बैठक बसेर घाइतेहरूको अवस्था छुट्याउने, अंगमा क्षति भएको हिसाबमा वर्गीकरण गर्नेबारे छलफल गरेको छ । सबै रिपोर्ट तयार गरी गृह मन्त्रालयमा पेस गर्ने प्रवक्ता बुढाथोकीले बताए । उनका अनुसार समितिले सबैभन्दा बढी कसलाई इन्जुरी भयो भनेर अध्ययन गरिरहेको छ ।

हालसम्म प्राप्त तथ्यांकअनुसार एउटा खुट्टा गुमाउने घाइते संख्या ६, एउटा हात गुमाउने संख्या एक, एक आँखा गुमाउने संख्या एक, एउटा कान गुमाउने एक, कम्मरमुनिको भाग नचल्ने एक, चारवटै हातखुट्टा नचल्ने एक, छातीमा गोली लागेर घाइते भएका ६० जनाभन्दा बढी, पेटमा गोली लागेर घाइते हुने १५ भन्दा बढीलगायत गरी दुई सयभन्दा बढीलाई ठुलो इन्जुरी भएको छ । उनीहरूको निरन्तर उपचार गर्नुपर्ने र उपचारमा थप खर्च लाग्ने प्रवक्ता बुढाथोकीले बताए ।

‘कसैको टाउको, कसैको खुट्टा, कसैको छाती, कसैको हातलगायत अंगमा समस्या छ भन्नेबारेमा तथ्यांक केलाउँदै छौँ । सरकारले एकपटकलाई सबै घाइतेलाई २० हजार दिने निर्णय गरेको थियो र हाल वितरण भइरहेको पनि छ,’ डा. बुढाथोकीले भने, ‘जसलाई बढी चोटपटक र समस्या छ उसलाई थप राहत र उपचार गर्नुपर्ने अवस्था पनि हुन्छ, हाल सबै घाइतेलाई समान दृष्टिकोणले हेरिएको छ ।’ उनका अनुसार घाइतेको उपचारमा जे–जति खर्च हुन्छ, त्यसको भुक्तानी गर्न प्रक्रिया थाल्न मन्त्रालयले आग्रह पनि गरेको छ ।

निजी अस्पतालले सरकारसँग माग्न थाले घाइतेको उपचार खर्च
हालसम्म बिरामीको उपचार गराएका निजी अस्पतालमध्ये ह्याम्स, केएमसी र बी एन्ड बी अस्पतालले रकम माग गरिसकेका छन् । यी अस्पतालले सुरुमा नि:शुल्क घाइतेको उपचार गर्ने बताएर पछि मन्त्रालयसँग खर्च माग गरेको प्रवक्ता बुढाथोकीले बताए । ‘कतिपय निजी अस्पतालले डिस्चार्ज गर्दा बिरामीसँग शुल्क मागेका थिए, हामीले नलिनुस् मन्त्रालयले दिन्छ भन्यौँ । सुरुमा सित्तैमा उपचार गर्ने भनेको केएमसीलगायत निजीले पछि रकम माग गरिरहेका छन् । हामीले सकेसम्म नि:शुल्क उपचार गर्न भनेर आग्रह गरेका थियौँ, तर कतिपयले घाइतेसँग नै मागेछन्,’ डा. बुढाथोकीले भने, ‘कतिपयलाई धेरैपटक अप्रेसन गर्नुपरेको छ, कतिपयलाई एक महिनासम्म पनि सघन कक्षमा उपचार गर्नुपरेको छ, मेडिसिन र बेड चार्ज पनि महँगो छ, त्यसैले खर्च धेरै भएको हो, अझ कतिपय घाइतेको नक्कली खुट्टा, कान र हात राख्नुपर्ने अवस्था छ ।’

जेन–जी प्रदर्शनका क्रममा २५ सयभन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये अघिकांश अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएर डिस्चार्ज भएकाहरू फलोअपमा पनि आउने गरेका छन् । कतिपयलाई उपत्यकादेखि दुर्गम गाउँसम्म एम्बुलेन्समै लैजानुपर्ने र ल्याउनुपर्ने हुँदा बढी खर्च लागेको मन्त्रालयको भनाइ छ । कतिपयलाई धेरैवटा औषधि चलाउँदा बढी खर्च लागेको छ । घाइते भएर हातखुट्टा गुमेकालाई सेन्सर भएको नक्कली खुट्टा र हात राख्न थप खर्च हुने गरेको छ । 

६ वटा शवको कंकाल मात्रै, अझै भएन पहिचान
त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागमा राखिएको ६ वटा शवको कंकाल मात्रै छ । ती कंकाल कसको हो भनेर अझै पुष्टि हुन सकेको छैन । भाटभटेनी डिपार्टमेन्ट स्टोरका भवनमा जलेको अवस्थामा भेटिएको कंकाल पोस्टमार्टम विभागमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालमा सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उक्त कंकालबारे केही आफन्त दाबी गर्न आए पनि पुष्टि नभएपछि जिम्मा लगाउन सकिएको छैन ।

खरानीजस्तै अवस्थामा रहेको कंकाल जिम्मा लिन कोही आएका छैनन् । ‘कतिपयले आफ्नो मान्छे हराएको भन्नुहुन्छ, तर आवश्यक पुष्टि नभएपछि हामीले कंकाल जिम्मा लगाएका छैनौँ,’ उनले भने, ‘सबैजसो जलेकाले कसको हो भनेर पुष्टि गर्न पनि अप्ठ्यारो छ ।’ 

सुझावित समाचार