श्रम स्वीकृतिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

वैदेशिक रोजगारीमा जाने युवाको तथ्यांक संकलनमा सजिलो हुने विभागकाे भनाइ

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगार सूचना प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिएको छ । आगामी बुधबारबाट लागू हुने गरी दुवै प्रणाली एक–आपसमा जोडिएपछि वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको छ ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनुपूर्व नै अभिमुखीकरण लिँदासमेत राष्ट्रिय परिचयपत्र अनिवार्य भएको जनाएको छ । यस्तो व्यवस्थापछि अभिमुखीकरण लिएदेखि नै वैदेशिक रोजगारीमा जाने युवाको तथ्यांक संकलनमा सजिलो हुने विभागले जनाएको छ । वैदेशिक रोजगार सूचना प्रणालीमा श्रम स्वीकृति लिन चाहेको व्यक्तिको सट्टा अरू कसैले बायोमेट्रिक प्रविष्ट गरे पनि जाँच गर्ने प्रविधि नहुँदा यकिन तथ्यांक संकलनमा कठिनाइ भइरहेको थियो । तर, राष्ट्रिय परिचयपत्र जोडिएपछि भने आउँदा दिनमा यकिन तथ्यांक संकलन गर्न सजिलो भएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आउँदा दिनमा अभिमुखीकरण तालिममा वास्तविक व्यक्ति पहिचान भएपश्चात् मात्र ब्याच हाल्न मिल्ने र व्यक्ति स्वयं उपस्थित भई कक्षामा सामेल हुनुपर्ने बाध्यकारी व्यवस्था लागू भएको बताए । पहिलो चरणमा अभिमुखीकरण तालिममा मात्र राष्ट्रिय परिचयपत्र प्रणाली आबद्ध गरिएको र आगामी दिनमा क्रमश: श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र अध्यागमनको प्रणालीसँग आबद्ध गर्ने योजना रहेको महानिर्देशक भट्टराईले जानकारी दिए । 

सुझावित समाचार