महराविरुद्ध साढे आठ करोड बिगो

मंगलबार, २८ असोज, २०८२
डिजिटल संस्करण
महराविरुद्ध साढे आठ करोड बिगो

मुद्दा दर्ताका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएका कृष्णबहादुर महरा । उनीविरुद्ध संगठित अपराध र भन्सार ऐनअनुसारको सजाय माग गरी मुद्दा दायर भएको छ । तस्बिर : अमुल थापा

  • सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई सघाएको आरोपमा डेढ वर्षअघि नै पक्राउ गरी बयान भइसकेकाले थप अनुसन्धान आवश्यक नपर्ने भन्दै सिधै मुद्दा दायर

सुन तस्करी गर्ने चिनियाँ गिरोहलाई सघाएको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ बिगो कायम गरी मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

महरालाई यही मुद्दामा डेढ वर्षअघि नै पक्राउ गरी बयान भइसकेकाले हाल विस्तृत अनुसन्धान आवश्यक नपर्ने भएकाले सिधै मुद्दा दायर गरिएको सिआइबीले जनाएको छ । उनीविरुद्ध संगठित अपराध र भन्सार ऐनअनुसारको सजाय माग गरी मुद्दा दायर भएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए । सिआइबीले महरालाई आइतबार पक्राउ गरेको थियो ।

मुद्दा दायर भए पनि उनको थुनछेक आदेश भने भएको छैन । मंगलबार बयान र थुनछेक आदेश हुने जिल्ला अदालत, काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठले बताए । चिनियाँ गिरोहले भेपमा लुकाएर ल्याएको नौ केजी ११ ग्राम सुनबराबरको रकमलाई बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर भएको हो ।

सो सुन तस्करी गर्ने गिरोहका नाइके चिनियाँ नागरिक दावाजिन वाङसँगको बारम्बारको टेलिफोन संवाद र महराले वाङको सामान छुटाउन तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको विषयलाई प्रमुख प्रमाणका रूपमा उल्लेख गरिएको छ । १० पुस ०७९ मा भन्सारले विमानस्थलमा बरामद गरेको भेप छुटाउन आफूले फोन गरेको महराले बयानमा स्वीकार गरेका छन् । तर, भेपमा सुन रहेको विषय आफ्नो जानकारीमा नभएको उनको दाबी छ । यस घटनामा उनका छोरा राहुलविरुद्ध पनि मुद्दा दायर भएकोमा उनी कैद भुक्तान गरी छुटिसकेका छन् ।

सो घटनामा महरालाई मुद्दा नचलाएको भनेर प्रश्न उठेपछि डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले उनीमाथि पनि अनुसन्धान गर्न भन्दै १ चैत ०८१ मा प्रतिवेदन दिएको थियो । त्यसको चार दिनपछि सिआइबीले उनलाई पक्राउ गरी बयान लिएकोमा ९ भदौमा हाजिरी जमानीमा छुटेका थिए । तर, त्यसपटक प्रमाण नपुगेको भन्दै उनीविरुद्ध मुद्दा चलाइएन ।  सिआइबीले त्यति वेला लोकेन्द्र पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक ली हानसोङविरुद्ध आठ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरी पूरक अभियोग लगाएको थियो । महराविरुद्ध अर्काे पूरक अभियोजन दर्ता गरिएको छ । यसअघिको मुद्दामा भने अदालतले फैसला सुनाइसकेको छ । जसमा धेरै दोषी ठहर भइसकेका छन् । तर, सुन तस्करी गर्ने चिनियाँहरू भने अहिलेसम्म फरार नै छन् ।

महरामाथि मुद्दा दायर भएपछि माओवादीका महासचिव देव गुरुङले निष्पक्ष र स्वतन्त्र रूपमा न्यायिक निरूपण हुनुपर्ने बताएका छन् । देश गम्भीर संकटमा रहेका वेला तीन वर्षअगाडिको मुद्दा पुन: क्रियाशील गराइएकोमा गम्भीर आशंका व्यक्त गर्दै उनले कानुनी आवरणमा कुनै षड्यन्त्र र राजनीतिक प्रतिशोध हुन नहुनेमा जोड दिएका छन् ।

‘अहिले मुलुकको राष्ट्रियता तथा लोकतन्त्रमाथि गम्भीर संकट पैदा भैरहेको र राजनीतिक दलहरूको आधारमा मात्र मुलुकको स्वाधीनता बँचिरहेको स्थितिमा उक्त मुद्दा पुन: क्रियाशील गराइएको छ,’ उनले भनेका छन्, ‘अत: कानुनी रूपले निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरूपण हुने अपेक्षासहित कानुनी आवरणमा कुनै पनि प्रकारको षड्यन्त्र र राजनीतिक प्रतिशोध नहोस् भनी सम्बन्धित पक्षहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 

सुझावित समाचार