बारामा हैजा महामारीको जोखिम बढ्दै गएपछि आजदेखि जिल्लाका ६ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियान स्वास्थ्य मन्त्रालयको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय बाराको समन्वयमा सुरु भएको हो ।
अभियानको पहिलो दिनै जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गतका सबै वडामा खोप कार्यक्रम सुरु भएको छ । एक वर्षभन्दामाथिका सबै व्यक्तिलाई खोप लगाइने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिए । उनका अनुसार वडा स्वास्थ्य केन्द्र, विद्यालय तथा सामुदायिक भवनहरूमा खोप केन्द्र स्थापना गरी स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली परिचालन गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत कञ्चन नेपालीका अनुसार प्रारम्भिक चरणमा बाराका ६ पालिकामा खोप अभियान सञ्चालन हुनेछ। सोहीअनुसार कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा सुरु गरिएको हो।
अधिकृत नेपालीका अनुसार यी ६ पालिकामा कुल तीन लाख ६५ हजार ९३१ जना नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन हुनेछ । अभियानका लागि आवश्यक खोप र स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा विभागमार्फत जिल्लामा ल्याइएको छ । प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक, विद्यार्थी स्वयंसेवक र स्थानीय प्रतिनिधिहरूको टोली परिचालन गरिएको छ। स्वास्थ्यकर्मीहरूले घर–घरमा जानकारी पुर्याउँदै नागरिकलाई खोप लिन प्रोत्साहित गरिरहेका छन्।
‘