काठमाडौंका मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध बारामा किटानी जाहेरी

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल बाराले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरेको छ।

संघले सोमबार दिउँसो जाहेरी दर्ता गर्दै दुवैजनालाई जेन–जी आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट, तोडफोड तथा सरकारी संरचनामाथि भएको विध्वंसका घटनामा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न रहेको आरोप लगाएको छ। संघले सो घटनाका लागि उनीहरूलाई नै जिम्मेवार ठहराउँदै कानुनी कारबाहीको माग गरेको हो।

जाहेरी दर्ता गर्नुअघि राष्ट्रिय युवा संघ बाराले शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्याली आयोजना गरेको थियो। एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले राज्यविरुद्धको अराजकता र हिंसा रोक्नुपर्छ भन्ने नारासहित र्याली निकालेका थिए। 

युवा संघ बाराका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पन्नाबागबाट सुरु भएको र्याली नगरका विभिन्न सडक हुँदै जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त भएको थियो। त्यहाँ संघका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय बाराका निम्मित प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितलाई जाहेरी-पत्र बुझाएका थिए।

संघका मधेश प्रदेश सह–इन्चार्ज तथा युवा नेता राम यादवले भने, ‘हामी शान्ति, स्थायित्व र कानुनी शासनको पक्षमा छौँ। बालेन शाह र सुदन गुरुङले नेतृत्व गरेको आन्दोलनले जनतालाई भ्रममा पार्दै हिंसालाई प्रोत्साहन दिएको छ। त्यसैले, हामीले उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाएका हौँ।’

देशका विभिन्न जिल्लामा जेन–जी आन्दोलनका क्रममा तोडफोड, सडक अवरोध र सरकारी सम्पत्तिमाथि आक्रमणका घटना भएका थिए। ती घटनामा विभिन्न राजनीतिक समूह र स्वतन्त्र कार्यकर्ताहरूको संलग्नता रहेको आशंका प्रहरीले जनाएको छ।

संघले भने भविष्यमा पनि यस्ता गैरजिम्मेवार राजनीतिक व्यवहारविरुद्ध कानुनी र राजनीतिक रूपमा विरोध जारी राख्ने चेतावनी दिएको छ।

सुझावित समाचार