कास्कीमा राहदानी सेवा पुनः सुरु

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको तोडफोड, आगजनी एवं लुटपाटपछि रोकिएको राहदानीसम्बन्धी सेवा सोमबारदेखि पुनः सुरु भएको छ।

तोडफोड, आगजनी एवं लुटपाटपछि कार्यालयमा ठूलो क्षति पुगी सार्वजनिक सेवाहरु अवरुद्ध भएकोमा क्रमिक रुपमा कार्यकक्षहरु मर्मत सम्भार गर्दै २९ भदौदेखि सुचारु भएका सेवाका अतिरिक्त सोमबारदेखि राहदानीका लागि फोटो खिच्ने सेवा सुचारु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

लम्सालका अनुसार हाल कास्की जिल्ला स्थायी ठेगाना भएका सेवाग्राहीहरुको लागि मात्र राहदानी सेवा उपलब्ध गराइएको छ। नयाँ राहदानी र राहदानी नवीकरणसम्बन्धी दुवै सेवाहरु सुचारु भएको हो।

यद्यपि, कार्यालय परिसरमा रहेको बैंकको शाखा पुनस्र्थापना भइनसकेको हुँदा राहदानीको लागि राजश्व जम्मा गर्न यथासम्भव विद्युतीय माध्यमहरु प्रयोग गर्न, बैंकमार्फत् राजश्व जम्मा गर्नुपर्ने भए एनआइसी एसिया बैंकको विरौटा शाखाबाट गर्न आग्रह गरिएको छ। सीमित श्रोतसाधन र साँघुरो स्थानबाट सेवा सुचारु गरिएकाले अत्यावश्यक परेका सेवाग्राहीहरुले मात्र राहदानीको लागि आवेदन दिन समेत कार्यालयले अनुरोध गरेको छ।

राहदानी बनेको म्यासेज आएका सेवाग्राहीलाई नियमित रुपमा आफ्नो राहदानी संकलन गर्न अनुरोध गर्दै कार्यालयले अन्य सेवाहरु यथाशिघ्र सुचारु गर्ने गरी तयारी गरिरहेको जनाएको छ।

सुझावित समाचार