इलाका प्रशासन लहानमा राहदानी सेवा पुनः सञ्चालन

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

सिराहाको लहानस्थित इलाका प्रशासन कार्यालयले जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा तोडफोड, आगजनीसँगै विभिन्न विद्युतीय लुटपाटपछि अवरुद्ध रहेकोे राहदानी सेवा ३३ दिनपछि पुनः सञ्चालन गरेको छ ।  

आन्दोलनको क्रममा राहदानी शाखामा तोडफोड भएका विद्युतीय उपकरण जडान गरिएपछि सोमबारदेखि पुनः राहदानी सेवा सञ्चालन भएको कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार राहदानी विभागबाट प्राप्त कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहित विभागसँग लिंक रहेको इन्ट्रानेट जडान गरिएपछि सेवा नियमित गरिएको हो । 

‘राहदानी हराएका, नवीकरण तथा नयाँ गरी दैनिक आउने सेवाग्राहीमध्ये शाखाबाट दैनिक ५० जनाको सेवा थालनी भएको छ,’ शाखाका नायव सुब्बा कुलबहादुर मिझारले भने, ‘सेवा नियमित भएसँगै सेवाग्राहीले भरेको अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक गर्ने काम सुरु भएको छ ।’ उनका अनुसार इलाकाबाट प्रमुखले रुजु गरेर पठाइएको कागजातमा विभागले राष्ट्रिय परिचयपत्र र राहदानीका लागि सेवाग्राहीले भरेको विवरण फरक नपरेको खण्डमा रुजु गरी सम्बन्धित सेवाग्राहीको मोबाइलमा सन्देशमार्फत जानकारी दिइन्छ । 

आन्दोलनको क्रममा पछि लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि इलाकाले ५ असोजदेखि नै परिचयपत्रको सेवा पुनः थालेको थियो । राष्ट्रिय परिचयपत्रका लागि करिब डेढ सयको संख्यामा दैनिक आउने सेवाग्राहीमध्ये आन्दोलनअघिकै क्षमतामा बढीमा ७० जनाको विवरण दर्ता गर्ने गरी सेवा प्रवाह भइरहेको शाखा अधिकृत सन्तोष रायले जानकरी दिए ।

उनका अनुसार आन्दोलनका क्रममा कार्यालयमा सामान्य आगजनीसहित तोडफोडका कारण करिब १५ लाख रुपैयाँबराबरको क्षति पुगेको थियो । कार्यालयले नाबालक परिचयपत्र, वंशज, वैवाहिक, प्रतिलिपि नागरिकता वितरणसम्बन्धी सेवा १ असोजदेखि नै थालेको थियो । 

इलाका प्रशासनले सिराहाको पूर्वउत्तरी भेगमा पर्ने धनगढीमाई नगरपालिकाको १२, १३ र १४, लक्ष्मीपुरपतारी गाउँपालिकाको २ र ६, नवराजपुर गाउँपालिकाको १, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिकाको १ देखि ५ नं. तथा लहान नगरपालिकाको १ देखि २४ नं. गरी ६ स्थानीय तहका ४० वटा वडा क्षेत्रका नागरिकलाई सेवा दिँदै आएको छ । 
 

सुझावित समाचार