बागलुङमा एक महिनामा नै १८७ मा डेंगु संक्रमण

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

बागलुङमा पछिल्लो समय डेंगु संक्रमण ह्वात्तै बढेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको पछिल्लो तथ्यांकअनुसार जिल्लामा २५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको पाइएको छ । साउनयताको तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी असोजमा मात्र १८७ जनामा संक्रमण भएको पाइएको छ ।

जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी डेंगु संक्रमितको संख्या बागलुङ नगरपालिकामा १३६ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका  प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । 

सापकोटाका अनुसार जिल्लाको गलकोट नगरपालिकामा ४३ जनामा संक्रमण भएको छ भने काठेखोला गाउँपालिकामा २३ जनामा संक्रमण भएको छ । त्यसैगरी, ढोरपाटन नगरपालिकामा १५ जना, ताराखोला गाउँपालिकामा चारजना, बडिगाड गाउँपालिकामा ६ जना, जैमिनी नगरपालिकामा सातजना र निसीखोला गाउँपालिकामा दुईजना रहेका छन् । 

दुई पालिकामा संक्रमण छैन

जिल्लाको तमानखोला र बरेङ गाउँपालिकामा डेंगुका बिरामीको अवस्था शून्य रहेको छ भने अन्य जिल्लाबाट आएर बसोबास गर्ने २१ जनामा डेंगु संक्रमण रहेको सापकोटाले जानकारी दिए । 

गत साउनमा २१ जना बिरामी रहेको बागलुङमा भदौमा ४९ जना रहेका थिए । असोज महिना लागेसँगै जिल्लामा डेंगुको संक्रमण ह्वात्तै फैलिएर तेब्बरले वृद्धि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको बुर्तिबाङ, कुश्मिसेरा, गलकोट र धौलागिरि अस्पतालमा डेंगुको परीक्षण हुने गर्छ । परीक्षण गरिएकामध्ये बुर्तिबाङ अस्पतालमा १६ जना, गलकोट नगरअस्पतालमा ४८ जना र धौलागिरि अस्पतालमा १९३ गरी कुल २५७ जना बिरामी रहेका छन् । 

चाडबाड लागेसँगै  डेंगुको बिरामी बढे

पछिल्लो समयमा नियमित वर्षा भएसँगै लामखुट्टे बढ्दै गएको र डेंगुको संक्रमण पनि बढ्दै गएको सापकोटाले बताए । ‘बागलुङमा भन्दा पोखरा, काठमाडाैं क्षेत्रमा डेंगुको संक्रमण दर बढी नै थियो । दसैँ नजिकिएसँगै ती सहरबाट मानिसहरू गाउँबस्तीमा आउनेक्रम बढ्दै गयो,’ सापकोटाले भने, ‘जब मानिसको चाप बढ्दै गयो बाहिरबाट आएको डेंगुको संक्रमण गाउँबस्तीमा पुग्यो । एक महिनाकै समयमा भदौभन्दा तेब्बरले डेंगुका बिरामी  बढेका छन् ।’ उनले वर्षा अझै बाँकी रहेको र जिल्लामा डेंगु संक्रमण तीव्र रूपमा फैलिएकाले कात्तिकको अन्तिमसम्म सबै सचेत हुन पनि आग्रह गरे ।

डेंगुु संक्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको  अस्पतालले जनाएको छ । जिल्लामा डेंगुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको अस्पतालका डाक्टर अमित ढुंगानाले जानकारी दिए ।

पछिल्ला दिनमा डेंगुको लक्षण देखिने झन्डै २० प्रतिशत मात्र रहेको र अन्य ८० प्रतिशतमा डेंगु संक्रमण भए तापनि लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । अहिले  अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ । डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य कार्यालय र जिल्लास्तरीय सरोकारवाला निकायले खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । 

खोज र नष्ट गर अभियान सञ्चालन

सोमबारदेखि बागलुङ नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा डेंगुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको सापकोटाले जानकारी दिए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, आमा समूह, जनप्रतिनिधिलगायतको सहभागितामा जोखिमयुक्त ठाउँमा पुगी डेंगु सार्ने लामखुट्टेको वासस्थान खोजी नष्ट अभियान सञ्चालन गरिएको हो । 

डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने उनको भनाइ छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको विशेष उपस्थितिमा जिल्लामा डेंगु नियन्त्रण तथा रोकथामका लागि छलफलपश्चात् खोज र नष्ट गर अभियान सञ्चालन गरिएको हो । 

सरोकार भएका पक्षहरूबिचको बैठकमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले डेंगु रोगको नियन्त्रण तथा रोकथामका लागि समुदायस्थलमा सचेतना अभिवृद्धि गर्नुपर्ने बताए । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले डेंगुलाई सामान्य रूपमा लिन नहुने चिकित्सक बताउँछन् ।

डेंगु नियन्त्रणका निम्ति विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने विभिन्न सन्देश लेखिएका पम्प्लेटहरू वितरण गर्ने तयारी थालिएको छ । विशेष गरी आफ्नो घर–आँगन सफा गरेर लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद अधिकारी बताउँछन् । 

नगरपालिकामा डेंगी संक्रमण भएका बिरामीको उपचारका लागि सबै स्वास्थ्य संस्थाले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छ ।  डेंगुको संक्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्न सक्छन् ।  संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । 

सुझावित समाचार