५४ मेगावाटको माथिल्लो भोटेकोशी खुल्यो

स्थानीयलाई १० प्रतिशत सेयर दिने सहमतिपछि एक महिनादेखि बन्द पावरहाउस सञ्चालनमा

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी कम्पनी आइतबार बेलुकाबाट सञ्चालनमा आएको छ । उत्पादन क्षेत्र भोटेकोशी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि एक महिनादेखि बन्द पावरहाउस खुलेको हो ।

जेन–जी आन्दोलनपछि भोटेकोशीका स्थानीयले जेन–जीको नाममा विद्युत्गृहको पावरहाउस बन्द गरेका थिए । पावरहाउस बन्द भएपछि प्रतिकित्ता सेयर एक सय हुने गरी उत्पादन क्षेत्र भोटेकोशी गाउँपालिकाभित्रका प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर दिन कम्पनी सहमत भएको भोटेकोशी गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाले जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको रोहबरमा आइतबार दिउँसो कम्पनीका प्रतिनिधि, गाउँपालिका जनप्रतिनिधि, जेन–जी प्रतिनिधि र स्थानीय अगुवासहितको सर्वपक्षीय बैठकले सेयरबारे सहमति जुटाएको हो । एक महिनादेखि पावरहाउस बन्द हुँदा ३० करोडभन्दा धेरै आम्दानी गुमेको अपर भोटेकोशी पावर कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक बबिन प्रधानले जानकारी दिए ।

उत्पादन सुरु भएको २५ वर्षपछि कम्पनीले स्थानीयलाई सेयर प्रदान गरेको छ । यसअघि ०७१ पुसमा राजनीतिक दलसँग ६ प्रतिशत सेयर दिने सहमति भएको थियो । यद्यपि, प्राकृतिक विपत्तिको कारणले सेयरको विषय स्थगित भएको थियो । संघर्ष गरेर स्थानीय बासिन्दाले सेयर प्राप्त गर्न सफल भएको जेन–जी प्रतिनिधि फुर्पा शेर्पाले बताए । आयोजनामा सुरुमा ८५ प्रतिशत सेयर लगानी अमेरिकन कम्पनी पान्डा इनर्जीले गरेको थियो । हाल नेपाली व्यवसायी सिद्धार्थशमशेर राणाको तारा म्यानेजमेन्ट कम्पनीले खरिद गरेको छ । 

विद्युत् कम्पनी रहेको स्थान भोटेकोशी वडा नं ३ का वडाध्यक्ष निमासोना शेर्पाले भोटेकोशी पावर कम्पनीले दिने सेयरबाट स्थानीय लाभान्वित हुने बताए । विगतमा भएको सम्झौताअनुसार पाँच वर्षपछि यो जलविद्युत् कम्पनी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।
 

सुझावित समाचार