बागमतीमा अझै उठाइएन जलेका गाडी

जेन–जी आन्दोलनमा भएको विनाशको प्रमाण बोकेर एक महिनादेखि उभिएका छन् प्रदेश सरकारका संरचना

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको एक महिना बितिसक्दा पनि बागमती प्रदेशमा तोडफोड र आगलागीबाट जलेका सरकारी गाडी र भवनका खरानी अझै उठ्न सकेको छैन । आन्दोलनका क्रममा जलेर खण्डहर बनेका सरकारी कार्यालय, मन्त्रालय र सवारीसाधन अहिले पनि जस्ताको तस्तै अवस्थामा छन् ।

प्रदेश सरकारका अधिकांश मन्त्रालय तथा प्रशासनिक कार्यालयहरू अहिले पनि भग्नावशेष अवस्थामा छन् । त्रिभुवन राजपथ किनारमा रहेको तत्कालीन श्रम कार्यालयको पाँचतले भवनमा प्रदेशका चार मन्त्रालय सञ्चालनमा थिए । अहिले त्यही भवनको आँगनमा जलेर खरानी भएका सवारीसाधन अलपत्र अवस्थामा देख्न सकिन्छ ।

एक महिनाअघि सर्वसाधारण र सवारीको चहलपहल हुने उक्त क्षेत्रमा अहिले सन्नाटा छ । फुटेका सिसा, पग्लिएका एल्मुनियम र युपिभिसीका टुक्रा, जलेका एयर कन्डिसनरका भाग र कालो खण्डहरजस्ता भवन जेन–जी आन्दोलनमा भएको विनाशको प्रमाण बोकेर उभिएका छन् । यस्तै, हेटौँडा– १० मा रहेको प्रदेश सभा भवन, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवनमा पनि जलेका सवारीसाधन, विभिन्न उपकरण र फर्निचर अझै पनि व्यवस्थापन हुन सकेका छैनन् ।

गत २३ र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशमा सबैभन्दा ठुलो भौतिक क्षति भएको थियो । आन्दोलनका क्रममा सरकारी कार्यालय, निजी सम्पत्ति र सवारीसाधनमा व्यापक तोडफोड र आगजनी भएको थियो । प्रदेश सभा भवनमा मात्र करिब ३० देखि ३५ करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ । पाँचवटा भवन, तीनवटा गाडी, ६ वटा मोटरसाइकल र कार्यालयका अधिकांश सामग्री जलेर नष्ट भएका थिए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रदेश सरकारमातहतका संरचना, सवारीसाधन र जिन्सी सामान गरी करिब ८९ करोड ९३ लाख रुपैयाँबराबरको क्षति भएको छ । मकवानपुरमा मात्रै ४० वटा सरकारी भवनमा क्षति पुगेकोमा १७ वटा भवन पूर्ण रूपमा नष्ट भएका छन् । चितवनमा १० वटा संरचना क्षतिग्रस्त भएका छन् भने ललितपुर, काठमाडौं र भक्तपुरमा रहेका प्रदेशमातहतका कार्यालयमा पनि आंशिक क्षति पुगेको छ ।सवारीसाधनतर्फ मात्रै १९५ वटामा आगजनी भएको थियो । जसमा १४२ वटा दुईपांग्रे र ५३ वटा चारपांग्रे सवारीसाधनमा क्षति पुगेको आर्थिक मामिलामन्त्री तामाङले बताए । मूल्यह्रासपछि सवारीसाधनतर्फ २१ करोड ६७ लाख रुपैयाँबराबरको क्षति पुगेको उनको भनाइ छ ।

एक महिना बितिसक्दा पनि क्षतिग्रस्त भवनहरूको पुनस्र्थापना कार्य भने सुरु हुन सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज पहिलो साता नै क्षतिग्रस्त भवनहरूको प्रारम्भिक द्रुत जोखिम मूल्यांकन गरेको थियो । सहरी विकास तथा भवन कार्यालयले दुई भवनमा रातो स्टिकर टाँसेर ‘प्रयोग अयोग्य’ घोषणा गरेको छ, जबकि अन्य केही भवनलाई रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउने सुझाव दिएको छ ।

मुख्यमन्त्री सभाहल, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुख सचिवको आवासीय भवन मध्यम जोखिममा छन् भने सामाजिक विकास र स्वास्थ्य मन्त्रालयका भवनहरू ‘यल्लो स्टिकर’ श्रेणीमा परेका छन् । मन्त्री तामाङका अनुसार पुनस्र्थापनाका लागि ७१ करोड ४१ लाख रुपैयाँबराबरको प्रारम्भिक लागत अनुमान गरिएको छ । ‘केही भवन मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छैनन् । त्यसैले पुनर्निर्माण र स्रोत व्यवस्थापनका विषयमा सरकार गम्भीर छ,’ उनले भने ।

सरकारले मन्त्रीस्तरीय र सचिवस्तरिय दुई समिति गठन गरेर पुनस्र्थापना तयारी थालेको भए पनि काम व्यावहारिक रूपमा अघि बढ्न सकेको छैन । ३ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल क्षति व्यवस्थापन गर्न निर्देशन दिए पनि त्यसको ठोस कार्यान्वयन अझै भएको छैन ।

क्षतिग्रस्त मुख्यमन्त्री सभाहलमा बागमती प्रदेश सभा बैठक राख्ने तयारी
लामो समयदेखि अवरुद्ध बागमती प्रदेश सभाको बैठक तिहारअघि नै सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका– २ स्थित मुख्यमन्त्री सभाहललाई अस्थायी रूपमा प्रयोग गर्दै बैठक सञ्चालन गर्ने तयारी गरेको हो ।

प्रदेश सभाको मुख्य भवन जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा आगजनीबाट क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनलाई वैकल्पिक सभाहलका रूपमा प्रयोग गर्न लागिएको हो । उक्त हलमा पनि जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको थियो । तर, सभाहललाई सामान्य मर्मत र सरसफाइ गरेर अस्थायी रूपमा भए पनि बैठक बस्नयोग्य बनाउने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आल्मुनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको भवनको अधिकांश भाग जलेका कारण सहरी विकास तथा भवन कार्यालयले जलेका भाग हटाउने, रङरोगन गर्ने र विद्युत् प्रणाली मर्मतको काम गरिरहेको छ । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार सोमबारसम्ममा सबै तयारी सक्ने लक्ष्य राखिएको छ ।

प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार असोजको अन्तिम सातातिर बैठक बोलाउने गरी अनौपचारिक छलफल अघि बढाइएको छ । उनका अनुसार दलहरूको केन्द्रीय तहमा कार्यक्रम चलिरहेका कारण अन्तिम मिति तय भने भइसकेको छैन । उपसभामुख अप्सरा चापागाईं र दलका नेतासँग परामर्शपछि बैठकको मिति औपचारिक रूपमा घोषणा गरिने तयारी गरिएको उनले बताए ।

सचिव पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सरसफाइ, रङरोगन र विद्युत् मर्मतको काम अघि बढेको जानकारी दिए । उनका अनुसार बैठक सञ्चालनका लागि आवश्यक टेबल, कुर्सी, माइक प्रणालीलगायतका सामग्री तत्कालका लागि भाडामा वा अस्थायी रूपमा उपलब्ध गराउने तयारी गरिएको छ ।

आगलागीका क्रममा सचिवालयका कागजात, कम्प्युटर र फर्निचर नष्ट भए पनि केही ल्यापटप र डेस्कटप बचेकाले प्रशासनिक काम पुनः सुरु गरिएको उनले बताए । हाल संसदीय दलहरूले प्रयोग गर्दै आएको भवनमा सचिवालय कार्यालय सञ्चालन भइरहेको छ । ‘आगलागीले क्षति पुगेको सभाहललाई सामान्य मर्मत र सरसफाइ गरेर बैठक बस्नयोग्य बनाउँदै छौँ । हाम्रो प्रयास असोज अन्तिम सातासम्ममा बैठक बोलाउने हो,’ उनले भने, ‘तर दलका कार्यक्रमका कारण मिति तय हुन बाँकी छ । परामर्शपछि औपचारिक घोषणा गर्नेछौँ ।’

मुख्यमन्त्री सभाहलको अस्थायी व्यवस्थापनका लागि आवश्यक फर्निचर र प्राविधिक सामग्री जुटाउन करिब १० लाख रुपैयाँभन्दा कम खर्च हुने अनुमान गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार तत्कालका लागि अस्थायी व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि पुरानै भवन मर्मत गर्ने विषयमा पनि छलफल भइरहेको छ । ‘लामो समयदेखि रोकिएको सभा सञ्चालन हाम्रो प्राथमिकता हो । तत्कालका लागि अस्थायी व्यवस्थापन गर्न लागेका छौँ,’ उनले भने, ‘आन्दोलनका कारण सरकारी भवनहरूमा क्षति पुगेकाले बैठक बस्ने स्थानसमेत अभाव छ । त्यसका लागि आवश्यक उपकरण र फर्निचर जुटाउने काम भइरहेको छ ।’

बैठकका एजेन्डा : सभामुखको राजीनामा र नयाँ निर्वाचन 
अब बस्ने प्रदेश सभा बैठकमा सभामुखको राजीनामा र नयाँ सभामुखको निर्वाचनको प्रक्रिया मुख्य छलफलको विषय रहेको छ । प्रदेश सभा सचिवालयमा दुईवटा नयाँ विधेयक पनि दर्ता भएको सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव पौडेलका अनुुसार सभामुख भुवनकुमार पाठकले पदबाट दिएको राजीनामापत्रलाई पहिले सभामा औपचारिक जानकारी गराइनेछ । सभाले राजीनामा स्वीकृत गरेपछि पद रिक्त भएको घोषणा गरेर नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ । 

गत २४ भदौमा सभामुख पाठकले पदबाट राजीनामा घोषणा गरी १ असोजमा उपसभामुखलाई राजीनामापत्र पठाएका थिए । सचिव पौडेलका अनुसार संविधानतः राजीनामा स्वीकृत भएको १५ दिनभित्र नयाँ सभामुखको निर्वाचन प्रक्रिया टुंग्याउनुपर्ने हुन्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले दलहरूसँगको छलफलपछि निर्वाचनको मिति तय गर्ने उनको भनाइ छ ।

प्रदेश सभा सचिवालयमा दुईवटा नयाँ विधेयक दर्ता भएको पौडेलले जानकारी दिए । खानेपानी तथा सरसफाइसम्बन्धी र प्रदेशको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक बैठकमा पेस हुनेछन् । आगामी बैठकमा प्रदेश सभामा सचिवालयमा दर्ता भएका आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयक र खानेपानीसम्बन्धी विधेयकमाथि छलफल अघि बढ्नेछ भने लामो समयदेखि रोकिएको चिट्ठा विधेयकलाई पनि पारित गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने सचिव पौडेलले बताए । यसका साथै प्रदेश मामिला समितिको यातायातसम्बन्धी प्रतिवेदन पनि बैठकमा पेस हुने तयारी रहेको उनको भनाइ छ । 

प्रभात तामाङ, आर्थिक मामिला  तथा योजनामन्त्री
केही भवन मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा छैनन् । त्यसैले पुनर्निर्माण र स्रोत व्यवस्थापनका विषयमा सरकार गम्भीर छ,’ उनले भने ।

सुझावित समाचार