एन्फा मुख्यालयमा फुटबल समर्थकको प्रदर्शन

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

फुटबल समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार शान्तिपूर्ण धर्ना बसेका छन् । एक दर्जनभन्दा बढी समर्थकले नेपाली फुटबलमा देखिएका समस्याको निकास निकाल्न एन्फा नेतृत्वलाई दबाब दिँदै शान्तिपूर्ण रूपमा धर्ना बसेका हुन् । समर्थकले पंकजविक्रम नेम्वाङ नेतृत्वमा रहेको एन्फाले ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग नगर्नु, आर्थिक अपारदर्शिता, नेतृत्वको गैरजवाफदेहिता र होम गेम विदेश’जस्ता विषयमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

 सातदोबाटोमा रहेको एन्फा मुख्यालयमा धर्ना बस्नुअघि सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको थियो । ‘वाक्कलाग्दो एन्फा, दिक्कलाग्दो नेपाली फुटबल’, ‘वेक अप एन्फा’, ‘एन्फा फुटबल एसोसिएसन कि कन्सल्टेन्सी’, घरेलु लिग चलाऊ, फुटबल बचाऊ’, विश्वकप चार वर्षमा आउँछ, तर ‘ए’ डिभिजन कहिले आउँछ,’ प्लेकार्डमा लेखिएको थियो । 

नेम्वाङले एन्फा सम्हालेको तीन वर्ष पूरा भएको छ । उनको कार्यकालमा एकपटक मात्र सहिद स्मारक ‘ए’ डिभिजन लिगको साइकल पूरा भएको छ । गत वर्ष मात्र एन्फाले ‘बी’ डिभिजन लिग आयोजना गरेको थियो । तर, ‘ए’ डिभिजन लिग अन्तिमपटक तीन वर्षअघि गरेको थियो । ‘ए’ डिभिजन लिग नहुँदा अधिकांश राष्ट्रिय खेलाडी पलयान भइसकेका छन् । 

एन्फाले स्थगित गर्यो बैठक
एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबसँगको आइतबार तय  बैठक स्थगित गरेको छ । गत भदौमा एन्फाले लिगमा आबद्ध क्लबलाई २६ असोज १ बजेका लागि लिग आयोजना गर्ने सम्बन्धमा बैठक बोलाएको थियो । तर, एन्फाले आवश्यक तयारी नपुगेका कारण स्थगित गर्नुपरेको जानकारी दिएको छ । ‘बैठकका लागि आवश्यक तयारी नपुगेको हुँदा स्थगित गरिएको छ,’ एन्फाले जनाएको छ, ‘आगामी बैठकबारे पत्रबाट जानकारी गराइनेछ ।’ 

सुझावित समाचार