नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एक सय अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा युएईलाई १ रनले हराउँदै नेपालले समग्रमा अन्तर्राष्ट्रिय क्रिकेटमा सयौँ जित पूरा गरेको हो । नेपालले १०९ टी–२० आई खेलमा ६२ र ७७ एकदिवसीयमा ३८ मा जित हात पारेको छ । सन् २०१४ मा पहिलो टी–२० आई र सन् २०१८ मा एकदिवसीयमा डेब्यु गरेको नेपालले कुल १८६ खेलमा सय जित, ७७ हार, चार बराबरी र पाँच नतिजाविहीन नतिजा हात पारेको छ ।
सन् २०१८ मा नेपालले आइसिसीको एकदिवसीय मान्यता पाएको थियो ।नेपालले अहिलेसम्म एकदिवसीय विश्वकप स्थानमा बनाउन सकेको छैन । नेपालले ५० ओभरको एकदिवसीय विश्वकपको ग्लोबल छनोटसम्म स्थान बनाएको छ । तर, टी–२० विश्वकपमा भने नेपालले दुईपटक प्रतिस्पर्धा गरिसक्यो ।
अहिले तेस्रोपटक विश्वकप खेल्ने लक्ष्यका साथ नेपाली टोली ओमानमा छ ।सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपालले पहिलोपटक स्थान बनाएको थियो । पहिलो अन्तर्राष्ट्रिय टी–२० आईमा नेपालले हङकङलाई हराएको थियो । सोही विश्वकपमा नेपालले बलियो अफगानिस्तानलाई समेत स्तब्ध पारेको थियो । त्यसको १० वर्षपछि नेपालले टी–२० विश्वकप (२०२४) मा स्थान बनायो । गत वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशजस्तो बलियो टेस्ट राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो ।
दक्षिण अफ्रिकासँग नेपाल १ रनले चुक्दा इतिहास रच्न वञ्चित भयो । अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले गत सेप्टेम्बरमा आइसिसीको टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिज खेलेको थियो । नेपालले पहिलोपटक टेस्ट राष्ट्रविरुद्ध सिरिज खेल्दा २–१ को ऐतिहासिक जित निकाल्यो । टी–२० फम्र्याटमा नेपालले भारत, पाकिस्तान, दक्षिण अफ्रिका, जिम्बावे, आयरल्यान्ड, वेस्ट इन्डिज र बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिसकेको छ ।
एकदिवसीयमा भने नेपालले आयरल्यान्ड र जिम्बावेसँग एकदिवसीय ग्लोबल विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो । आइसिसीको एकदिवसीय वरीयतामा नेपाल १७औँ र टी–२०आईमा १८औँ स्थानमा छ । नेपालले तीनपटक एसियन खेलकुद प्रतियोगितामा सहभािगता जनाएको छ ।