गाउँमै रोजगारी सिर्जन गर्दै ताप्लेजुङका महिला

हिउँले छोपिएको जिल्ला महिलाको उद्योगले तताउँदै

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको चिसो हावासँगै बिहानको घामले पहाडका पाखाहरू उज्यालो बनाउँछ । यी उज्यालो पाखाहरूमा अब फूल मात्र फुल्दैनन् । महिलाका सपना पनि फुल्न थालेका छन् । कहिल्यै नदेखिएको हिम्मतका साथ महिलाहरू उद्यममा होमिन थालेका छन् । उनीहरूको यो प्रयासले गाउँको मुहार बदल्न थालेको छ ।

ताप्लेजुङ नेपालकै एक सुन्दर, तर दुर्गम जिल्लामध्ये पर्छ । यहाँको भौगोलिक बनावटले गर्दा रोजगारीका अवसर सीमित छन् । धेरै पुरुषहरू वैदेशिक रोजगारमा छन् । घरमा बाँकी रहेका महिलाहरू परम्परागत खेतीपातीमै सीमित थिए । तर, अब समय फेरिएको छ । महिलाहरूले पनि नेतृत्व लिन सक्छन् । उद्यम गर्न सक्छन् भन्ने सोचसँगै उनीहरूले आफ्नै गाउँघरमा व्यवसाय सुरु गर्न थालेका छन् ।

यही सोचबाट सुरु भएको हो, ‘पाथीभरा हिमाली कृषि प्रशोधन उद्योग’ । यो उद्योगले अलैंचाको उत्पादन, प्रशोधन र बिक्रीमा महिलालाई सक्रिय बनाएको छ । उद्योगकी प्रोपाइटर बसन्ती गुरुङले अलैंचीबाट, जडीबुटी मिलाएर हर्बल टीको उत्पादन गरिरहेको बताइन् । जसले स्थानीय स्तरमा उत्पादनलाई राम्रोसँग प्याकेजिङ गरेर बजारसम्म पुर्याउने काम गरेको गुरुङले बताइन् । वार्षिक रूपमा १० हजार प्याकेटसम्म उत्पादन गरिने बताइन् । बजारको अभाव भएकाले धेरै उत्पादन गर्न नसकेको गुरुङले जानकारी दिइन् । 

यो उद्योगले धेरै किसान र महिलालाई रोजगारी दिइरहेको छ । महिलाहरू उत्पादन मात्रै होइन, प्रशोधन, गुणस्तर नियन्त्रण र बजार व्यवस्थापनसम्म जिम्मा लिने भएका छन् । ‘घर र खेतमा सीमित थियौँ, अहिले अरूलाई पनि रोजगारी दिन थालेका छौँ,’ उनले भनिन् । 

अलैँचीको जराबाट सजावटका सामान
अर्काे उल्लेखनीय उदाहरण बनेको छ, ‘चन्दन फाइबर उद्योग’ । यस उद्योगले अलैंचीको जराबाट (फाइबर) झोला, म्याट, वालेट जस्ता ४० भन्दा बढी सजावटका सामाग्री बनाउँछ । यी सामाग्री अहिले काठमाडौँ, पोखरा जस्ता सहरहरूमा मात्रै होइन विदेशी बजारमा समेत स्थान पाएका छन् । सुरुमा यस्तो कल्पना पनि गर्न नसक्ने महिलाहरूले अब आफ्नै डिजाइनमा सामान उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । चन्दन फाइबर उद्योगका प्रोपाइटर माया गुरुङले १५ जना महिलालाई रोजगारी दिएको बताइन् । गुरुङले ०६८ सालमा एक लाख ६८ हजारबाट सुरु गरेको उद्योग अहिले एक करोडभन्दा बढीको भएको जानकारी दिइन् । बजार व्यावस्थापनमा समस्या भए पनि वार्षिक ३० लाखसम्मका सामाग्री उत्पादन गरेर बिक्री गरिरहेको जानकारी दिइन् । 

यी उद्यमले महिलाहरूलाई केवल आर्थिक रूपमा सक्षम मात्र बनाएका छैनन्, उनीहरूको आत्मविश्वास, निर्णय गर्ने क्षमता र सामाजिक स्थानसमेत बढाएको छ । यद्यपि, चुनौतीहरू पनि छन् बजारमा प्रतिस्पर्धा कडा छ । कहिले मूल्य घट्छ, कहिले माग घट्छ । व्यवसाय चलाउन पूँजी चाहिन्छ, जुन अझै सजिलोसँग पाउन सकिँदैन । प्रविधिको अभाव, तालिमको कमी, ढुवानी खर्चजस्ता समस्या अझै कायम छन् । 

तर, यी महिलाहरू हार मान्न तयार छैनन् । उनीहरू भन्छन्, ‘हामीले आज सुरु गरेका छौँ, भोलिका लागि बाटो बनाएका छौँ ।’ सरकार र संघसंस्थाको सानो सहयोगले पनि ठूला परिवर्तन सम्भव हुने उनीहरूको विश्वास छ । एक समय घरको चौकाबाट बाहिर ननिस्कने महिला अब गाउँ र बजार मात्रै होइन, देशको आर्थिक विकासमा पनि भूमिका खेल्न थालेका छन् । 

ताप्लेजुङका यी महिला उद्यमीहरू हामी सबैका लागि प्रेरणा हुन । विपरित परिस्थितिमा पनि अगाडि बढ्ने आँट र इच्छाशक्तिले उनीहरूले आफैँ मात्र होइन, आफ्नो समुदायलाई पनि आत्मनिर्भर बनाउँदै लगिरहेका छन् । 

साना उद्योगमार्फत थपियो चार सय रोजगारी
ताप्लेजुङमा घरेलु तथा साना उद्योगमार्फत ३८५ जना नयाँ रोजगारीमा लागेका छन् । ७८ जना नयाँ उद्यमी थपिएपछि २१५ पुरुष र १७० महिला रोजगारमा जोडिएका हुन् ।

गत आवमा ११२ उद्योग नवीकरण, ७ नामसारी, ५ पुँजी वृद्धि, २ स्थानान्तरण, ३ उद्देश्य थप, ८ लगत कट्टा र १३ उद्योगको प्रतिलिपि जारी भएको छ । वाणिज्य फर्मतर्फ २७ दर्ता, ७८ नवीकरण, ८ प्रतिलिपि, ३ उद्देश्य थप, ४ पुँजी वृद्धि, ३ नाम परिवर्तन, १ नामसारी र ८ खारेज भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले बताए । उनले घरेलु उद्योगमा २ प्रालि र ७४ व्यक्तिगत गरी ७६ उद्योग दर्ता भइको समेत जानकारी दिए ।
 

सुझावित समाचार