कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुस्करराज ओझा निर्वाचित भएका छन्। प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतान्तरले पराजित गर्दै ओझाले जित हासिल गरेका हुन्। अध्यक्षमा निर्वाचित ओझाले ९५० र उनका प्रतिस्पर्धी स्वाँरले ८८९ मत प्राप्त गरे।
संघको निर्वाचनमा ओझा र स्वाँर प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव तथा स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा विजयी भएका छन्।
संघको बरिष्ठ उपाध्यक्षमा ओम बिष्टलाई पराजित गर्दै केशवराज जोशी विजयी भएका छन्। जोशीले स्वाँर प्यानलबाट उम्मेदवारी दिएका थिए। जोशीले ९५७ र ओझा प्यानलका उम्मेदवार बिष्टले ५५५ मत प्राप्त गरे। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र राठीले २७२ मत प्राप्त गरे।
उद्योगतर्फ उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त ९७६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी बाशुदेव भट्टले ७३५ मत प्राप्त गरे। एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल ६०२ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार कविन्द्र पन्तले ५७२ र स्वाँर प्यानलका अनिल कुमार भोजानियाले ५१५ मत पाए।
संघको वाणिज्यतर्फको उपाध्यक्षमा गगनराज केसी र बस्तुगत उपाध्यक्षमा भीमराज ओझा अब्बु निर्वाचित भए। दुवैजना ओझा प्यानलका हुन्। केसीले एक हजार एक मत पाउँदा उनका प्रतिस्पर्धी राधिकाकुमारी चौधरीले सात सय नौ मत पाइन्। त्यस्तै ओझाले ९०८ मत पाउँदा उनका प्रतिस्पर्धी सिद्धराज पनेरुले ८२८ मत पाए।
महासचिवमा ओझा प्यानलका दिनेश लम्साल ९१२ मतसहित विजयी हुँदा स्वाँर प्यानलका सुरेश पाण्डेयले ८३४ मत प्राप्त गरे। त्यस्तै कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भएका छन्। दुवैजना स्वाँर प्यानलबाट चुनाव लडेका थिए। बोहराले एक हजार १०९ र चन्दले ९२६ मत प्राप्त गरे। ओझा प्यानलबाट कोषाध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर कठायतले ६०२ र सचिवका उम्मेदवार कृष्णाकुमारी बिष्टले ५१४ मत प्राप्त गरे। सचिवमा स्वतन्त्र उम्मेदवारी दिएकी कोपिला कुँवरले ३३३ मत पाइन्।
संघको कार्यसमिति सदस्यमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो। निर्वाचन समितिका अनुसार दुई हजार ३३५ मतदाता रहेकोमा एक हजार ९४० जनाले मतदान गरेका थिए। नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको निर्वाचनमा ५० जनाको उम्मेदवारी परेको थियो।