मन्त्री घिसिङले गरे १४ वर्षदेखि अलपत्र कन्काई पुलको निरीक्षण

पुलबारे छिट्टै निर्णय गरिने

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन्।

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका– २ र गौरीगन्ज गाउँपालिका– १ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गरेका छन्।

करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एन्ड बिल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष ०६७/६८ मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ।

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब यसको विस्तृत रूपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए। उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिनेछौँ, जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौँ, चाँडै निकास दिन्छौँ।’

स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती व्यहोर्नुपरेको, व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो।

निर्माण व्यवसायीका तर्फबाट ०७६ सम्म काम गरिएको थियो। तर, निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो। प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो। ठेक्का सम्झौताको म्याद ०८० मै सकिएको छ। सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशाेधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये आठवटा सकिएको छ भने बाँकी ११ मध्ये दुईवटाको बिमसम्म (गर्डर) हालिएको छ। ६ वटाको जग हालिएको छ भने तीनवटाको जग हाल्न बाँकी रहेको छ।

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका– २ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेका थिए। बाढीका कारण उक्त पुल भाँचिएको थियो। उनले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे। मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृहसचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी, झापा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत थिए।

सुझावित समाचार