उदयपुरको त्रियुगा नगरपालिकामा छठपूजाको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार सकिएसँगै हिन्दुहरूकै पर्वको रूपमा परिचित छठपर्वको तयारी सुरु भएको हो ।
छठपर्वका लागि त्रियुगा नदी किनारमा भौतिक पूर्वाधार निर्माणको काम सुरु गरेको त्रियुगा नगरपालिका मेयर वसन्तकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार छठका लागि नदी सम्याउने, बर्तालु बस्ने छठीघाट निर्माण गर्नेलगायतका काम सुरु भएको छ । ‘गाईघाटमा छठपर्वलाई भव्य र सभ्य बनाउन नगरपालिका लागिपरेको छ ।’
छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न पाउने गरी तयारी थालिएको छ ।
त्रियुगा नगरपालिका छठपूजा समितिका अध्यक्ष चन्दन साहका अनुसार त्रियुगा खोला सम्याउने, बर्तालुघाट निर्माण गर्ने, टेन्ट निर्माण गर्ने काम सुरु भएको हो । उनले भने, ‘सूर्य भगवानकाे प्रतिमा भएको मूर्ति निर्माण, औपचारिक कार्यक्रमका लागि मञ्च निर्माणस्थल बनाउने काम, लाइट ग्यालरीको जडानका लागि काम सुरु भएको छ ।’
छठपर्व सूर्य भगवान् र छठीमाईको आराधनामा मनाइने हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्वमा लिइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन् । तिहार सकिएसँगै छठपर्व सुरु हुन्छ ।