अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सहिद स्मारक ए डिभिजन लिगका १४ मध्ये नौ क्लबले स्वतन्त्र लिग समिति बनाएर डिभिजन लिग आयोजना गर्न अनुरोध गरेका छन् । एन्फाले प्रस्तावित ‘होम एन्ड अवे’ लिगका बारेमा छलफल गर्न आइतबार क्लबहरूलाई बैठकमा बोलाएको छ । त्यसअघि शनिबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले एन्फाको विषयमा असन्तुष्टि राख्दै लिग आयोजना गर्न दबाब बढाएका हुन् । उनीहरूले स्वतन्त्र लिग समिति बनाएर मात्रै डिभिजन लिगलाई व्यवस्थित ढंगले निरन्तर सञ्चालन गर्न सकिने पनि सुझाव दिए ।
पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले तीनवर्र्षे कार्यकाल पूरा गरिसक्दा मात्र एकपटक सहिद स्मारक डिभिजन लिगको साइकल पूरा गरेको छ । सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेको दुई वर्ष बढी भइसकेको छ । यसैबिच क्लबहरूले भने एन्फालाई लिग गर्न दबाब बढाएका छन् । एन्फा निर्वाचन नजिकिँदै गर्दा एन्फा नेतृत्व भने विभिन्न बहाना बनाएर पन्छिरहेको क्लबहरूले आरोप पनि लगाएका छन् ।
‘एन्फाले क्लबहरू नै लिग खेल्न तयार छैन भन्न सक्छ । तर, हामी लिग खेल्न तयार छौँ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘हामीलाई होम एन्ड अवे लिग गर्ने भनिएको छ । तर, एन्फाकै तयारी छैन ।’
पत्रकार सम्मेलनमा हिमालयन शेर्पासँगै एनआरटी, फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मच्छिन्द्र क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो । तीन विभागीय टिमसँगै बढुवा भएका प्लानिङ ब्वाइज र जावलाखेल युथका प्रतिनिधि पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।
एन्फा उपाध्यक्ष दावा लामा प्लानिङ र कार्यसमिति सदस्य महेन्द्र क्षेत्री जावलाखेल युथका अध्यक्ष हुन् । त्यसैले पनि दुई क्लबका प्रतिनिधि पत्रकार सम्मेलनमा देखिएनन् । यसअघि एन्फाले गत असोज ४ गते पत्र लेख्दै १४ क्लबलाई आइतबारको पत्रकार सम्मेलनमा बोलाएको थियो । यही बैठकमा रोकिएको एन्फा यू–१६ युथ लिगका बारेमा पनि छलफल हुने बताइएको छ ।
१० वर्षका लागि घरेलु मैदान माग
क्लबहरूले होम एन्ड अवे लिग आयोजना गर्न कम्तीमा १० वर्षका लागि मैदानको माग गरेका छन् । उनीहरूले भनेका छन्, ‘एएफसी र एन्फा स्वयंको मापदण्डअनुसार कम्तीमा १० वर्षका लागि घरेलु मैदानको कानुनी अधिग्रहण गरी मैदान र प्रशिक्षण मैदान उपलब्ध गराउनुपर्नेछ ।’ क्लबहरूको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार क्लबहरूलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरूको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ । यसैगरी, सम्बन्धित सरकारी निकायसँगको समन्वयमा नेपालको कानुनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजीजस्ता आपराधिक कार्यलाई कडाइका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रस्ताव पनि क्लबहरूले गरेका छन् ।
हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्–
एन्फाले ए डिभिजन लिग खेल्न क्लबहरूले मानेन भन्न सक्छ । तर, हामीले अहिलेसम्म लिग खेल्दैनौँ भनेको छैन । एन्फाले होम मैदान दिन्छौँ भनेर प्रस्ताव ल्यायो । तर, हामीलाई नै हाम्रो होम मैदान थाहा छैन । होम मैदान त कम्तीमा १० वर्षका लागि दिनुपर्यो । कि एक वर्षअघि नै होम मैदान तयार गर भन्नुपथ्र्याे । हामी त्यो पनि गराउन सक्थ्यौँ । तर, खेल नै कहाँ हुने हो थाहा छैन ।