मधेश प्रदेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

सत्तासहयोगी दलहरूले समर्थन फिर्ता लिएपछि अल्पतमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले २८ असोजमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री सिंहले शुक्रबार प्रदेश सभा सचिवालयलाई पत्राचार गरी २८ गते विश्वासको मत दिने जानकारी गराए। मुख्यमन्त्री सिंहले आफ्ना प्रेस सल्लाहकार अवधेश झामार्फत प्रदेश सभामुखलाई विश्वासको मत लिने जानकारी गराएका हुन्। 

आफ्नै पार्टी जनमत, सत्तासाझेदार दल एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार अल्पमतमा रहेको छ। समर्थन फिर्ता लिएलगत्तै कांग्रेसले एमाले र जनमत पार्टीसँग मिलेर आफ्नो नेतृत्वको नयाँ सरकार गठनका लागि २२ असोजमै प्रदेश प्रमुखसमक्ष ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित बहुमतको दाबी प्रस्तुत गरिसकेका छन्। 

नयाँ गठबन्धन बनेको र बहुमत गुमेको यस राजनीतिक संकटका बिच मुख्यमन्त्री सिंहले पद जोगाउन अन्तिम संवैधानिक प्रयास गर्ने अडान लिएका छन्। तर, प्रदेश सभामा आवश्यक ५४ मत नपुग्ने र विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत रहेको स्थितिमा उनले विश्वासको मत पाउने सम्भावना देखिएको छैन। 
 

सुझावित समाचार