संस्कृति जगेर्नाको हुटहुटीले बनेको फिल्म रिसोर्ट

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

हिजोआज दुर्गम गाउँमा समेत ढुंगामाटोले बनेका मौलिक घर भेट्टाउन मुस्किल हुन्छ । सिमेन्टेड भवन, आधुनिक झ्यालढोका, टिनका छानाले बनेका घर मात्रै देखिन्छन् । अझ काठमाडौं उपत्यकामै ढुंगामाटोले बनेको घर देख्न त निकै मुस्किल छ । तर, काठमाडौंकै ब्रह्मखेल चोकबाट करिब चार किलोमिटर भित्र गागलफेदीमा ग्रामीण परिवेशको झल्को दिने गाउँले घर (फिल्म रिसोर्ट) देख्न पाइन्छ । यो गाउँले घर अहिले फिल्म, म्युजिक भिडियो, टेलिसिरियललगायतको छायांकनस्थल बनेको छ ।

ढुंगामाटोको संरचना, ढिकीजाँतो, अँगेनो, निदालमा झुन्ड्याइएका मकै, भित्तामा टाँगिएका दाउराका हार, घरभित्र सजाइका पुराना भाँडाकुँडा, यी सबै दृश्यले परम्परागत नेपाली गाउँघरको जीवनशैली झल्काउँछ । आधुनिकता र प्रविधिको लडाइँबिच पनि पराम्परागत परिवेश बोकेको गागलफेदीको यो घरले नेपाली फिल्मकर्मीलाई लोभ्याइरहेको छ । यो घरको परिकल्पनाकार हुन्, गागलफेदीमै जन्मेहुर्केका कलाकार रामहरि खड्का । सिटामोल, अभिमन्युलगायत फिल्ममा अभिनय गरेका उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।  

०७९ सालको कुरा हो । उनी म्युजिक भिडियोमा अभियन गर्ने दौरान भारतको प्रसिद्ध रामोजी फिल्म सिटी पुगेका थिए । त्यसवेला उनले फिल्म सिटीमा घुम्ने मौका पाए । फिल्म सिटीमा उनले भारतका पुराना गाउँ, सहर, जेल, अस्पताल, प्रहरी चौकीजस्ता विशाल संरचना एकै ठाउँमा देखे । भारतीय फिल्म र म्युजिक भिडियो छायांकन गर्ने संसार देखे । उनलाई लाग्यो, फिल्म, म्युजिक छायांकन लागि आवश्यक सबै स्थान एकै ठाउँमा बनाउन सकिने रहेछ । 

त्यहीँबाट उनले सपना देखे, नेपालमा सानो ठाउँमा एकीकृत छायांकनस्थल बनाउन सकिन्छ । नेपालमा उनले देखेका थिए, नेपाली फिल्मकर्मीहरू उपयुक्त लोकेसनको खोजीमा गाउँ–गाउँ डुलिरहन्छन् । पुरानो ढुंगामाटोको घर खोज्न काठमाडौंबाट हप्तौँको यात्रा गर्नुपर्ने बाध्यता छ । यही समस्याको समाधान गर्न उनले आफ्नै जन्मथलोनजिक गागलफेदीमा यस्तो लोकेसन निर्माण गर्ने निर्णय गरे ।

नेपालका अधिकांश निर्माता, निर्देशक छायांकनस्थल नभेटेर हैरानी भएको देख्थँे । फिल्मकर्मीले गाउँले परिवेशको घर खोज्नलाई काठमाडौंबाट हप्तौँ लगाएर गाउँगाउँ डुल्नुपर्ने बाध्यता उनलाई सुनाउथे । ‘अधिकांश फिल्ममेकर सहर बस्छन् । उनीहरू गाउँकेन्द्रित कथा ल्याउँछन् । तर, काठमाडौंमा गाउँको अवशेष छैन, सहरले गाउँ निलिसक्यो,’ उनी भन्छन्, ‘भारतको जस्तो फिल्म सिटी बनाउने स्थान छैन, लागानी पनि गर्न सकिँदैन । प्लटिङले नांगिँदै लगेको पाखालाई गाउँको निर्माण गर्ने योजना बुनेँ । जसले फिल्म सुटिङका लागि पुरानो घर खोज्दै गाउँ–गाउँ धाउनु नपरोस् । सानोसानो काम गर्न सकियोस् ।’

फ्याँकिएका काठ संकलन
पुरानो शैलीको घर निर्माण गर्नु सामान्य काम थिएन । काठका झ्यालढोका, ढोकामा टुँडाल, झ्यालमा पिँढी, ढिकीजाँतोजस्ता सामग्री जुटाउन रामहरिलाई तीन वर्ष लाग्यो । कतै पुराना घर भत्काउँदा बाँकी रहेका सामग्री संकलन गरे, कतै फ्याँकिएका काठ संकलन गरे  । 

पुरानो गाउँले घर बनाउन आधुनिक घर बनाउनुजस्तो सजिलो थिएन । घरमा नेपाली सांस्कृतिक परिचय दिन सक्ने बनाउन सकिन्छ–सकिँदैन भन्ने थियो । उनको घरको बाहिर र भित्र पुराना शैलीका काठ प्रयोग गरेका छन् । ‘मैले पुराना काठका झ्यालढोका जुटाएँ । यहाँ प्रयोग भएका काठ पुराना घरबाट निकालिएको हो, कतै फ्याँकिएका काठसमेत संकलन गरेको छु । सामग्री जुटाउन तीन वर्ष लाग्यो, गाउँको पराम्परागत घरको रूप दिन सफल भएको छु,’ उनी सम्झन्छन् । 

अहिले अधिकांश निर्देशक–निर्माताले उनको कामलाई प्रशंसा गर्छन् । ‘सरकारले गर्नुपर्ने काम तपाईंले गर्नुभएको छ । गाउँको घर निर्माण गरिदिनुभयो भनेर धन्यवाद पनि भन्छन् । अझै केही संरचाना थप्न बाँकी छ । निर्माण पूरा हुन बाँकी छ । नेपालमा अझै फिल्ममा आवश्यक पर्ने अदालतको सेटअप भेट्टाउन निकै मुस्किल छ । पुलिस चौकी, अस्पताल निर्माण गर्न निकै गाह्रो छ । अहिले फिल्म र म्युजिक भिडियोका लागि अनुहारले मात्रै पूरा गरिदिएको छ,’ उनले भने । 

हिजो कलाकार, निर्देशक वा छायांकन गर्ने पुराना घर खोज्न धेरै गाउँ डुल्थे । जसले समय र पैसा दुवै सकिन्थ्यो । तर, फिल्म रिसोर्टले त्यो आवश्यकता एकै थलोमा पूरा गरिदिएको उनी बताउँछन् । ‘निर्देशकहरू अहिले मलाई फोन गर्छन्, दाजु, पुरानो घर चाहिएको छ, भोलि सुटिङ छ, खाली छ कि ?’ म भन्छु, आउनुस्’, खड्का मुस्कुराउँदै भन्छन् । 

यो घरमा अहिलेसम्म दर्जनौँ फिल्म, टेलिसिरियल र म्युजिक भिडियो छायांकन भइसकेका छन् । घरमा दसँै–तिहार, तिजजस्ता चाडपर्व झल्किने गीत छायांकन हुने उनी सुनाउँछन् ।

यो घर केवल दृश्यमा मात्र होइन, त्यसमा लुकेको नेपाली सांस्कृति पराम्परा बोल्छ । उनको यो सांस्कृतिक संरक्षण र नयाँ पुस्तामा जगेर्ना जागृत गराउने प्रयास पनि हो । केवल एउटा घर होइन, उनको यो घर सांस्कृतिक चेतनाको साकार रूप हो । आधुनिकताले पुरानो शैलीलाई विस्थापन गरिरहेको समयमा उनको प्रयासले नेपाली फिल्मकर्मीलाई गाउँ–घर र पहिचान सम्झाउने माध्यम बनेको छ । कतिपय कलाकार सुटिङमा आउँदा घर सम्झेर  भावुक हुन्छन् । हाम्रो पनि यस्तै घर थियो, आफ्नै घर आएजस्तो भयो । भनेर सुनाउँछन् । त्यसैले पनि मैले यसलाई केवल व्यापार होइन, संस्कृति जोगाउने काम ठानेको छु,’ उनी भन्छन् । 

रामहरि खड्का यतिमा मात्रै रोकिने सोचमा छैनन् । उनले फिल्म वा गीतको छायांकनको लागि जेल, अस्पताललगायत आवश्यक लोकेसनका लागि विस्तार गरिरहेका छन् । अर्काे नेपाली पराम्परा झल्किनेहाट–बजारको संरचना, चौतारा, पोखरीजस्ता संरचना बनाउने उनको योजना छ । उनको योजना केवल व्यापारिक सोचमा मात्र सीमित छैन, सांस्कृतिक संरक्षणको गहिरो चेतनाबाट अघि बढिरहेको छ । ‘यो घर ठाउँ केवल छायांकनको लागि मात्र होइन, नयाँ पुस्तालाई संस्कृति देखाउने थलो बनोस् । विद्यालय र कलेजका विद्यार्थी आएर हेर्न बुझ्ने ठाउँ बनोस् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘यो घर केवल दृश्यको लागि ‘सेट’ मात्र होइन, नेपाली पराम्परागत गाउँघरको जीवनशैलीको संग्रहालय हो ।’
 

सुझावित समाचार