सल्यानमा एन्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग गर्न नगराउन स्वास्थ्य सेवा कार्यालय सल्यानले सचेत गराएको छ। जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई एन्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग रोक्न आग्रह गरेको हो।
विश्वभर एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगका कारण मानिस, पशुपक्षी, वनस्पति र वातावरणमा प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाको तीव्र विकास भइरहेकाले अन्यावश्यक औषधि प्रयोग नगर्न आग्रह गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर अर्जुनकुमार बुढाले बताए। उनले भने, ‘यसले भविष्यमा सामान्य संक्रमणहरूको उपचारमा समेत गम्भीर चुनौती र जोखिम उत्पन्न गर्न सक्ने अवस्था देखिएको छ।’
कार्यालयले एन्टिबायोटिकको दुरुपयोग रोक्न, सचेत रहन,औषधि लेख्दा वा प्रयोग गर्दा सावधानी अपनाउन र रोगको प्रकृतिअनुसार मात्र औषधि प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। जिल्लामा पनि बिरामीहरूलाई आवश्यकभन्दा बढी एन्टिबायोटिक औषधि लेख्ने प्रवृत्ति बढ्दो रहेको डा. मगरको भनाइ छ।
सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई कुन अवस्थामा एन्टिबायोटिक सिफारिस गर्न पाउनेसम्बन्धी मापदण्ड एवं औषधिको सही प्रयोगसम्बन्धी कार्यक्रम अनिवार्य रूपमा पालना गर्न स्वास्थ्य सेवा कार्यालयको अनुरोध छ।