राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र क्यासिनोहरूले विदेशी मुद्राको कारोबार गर्न पाउने व्यवस्था लागू भएको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नयाँ व्यवस्था अनिवार्य गरेको हो ।
‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान छ । सोही व्यवस्थाबमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृतिअनुसार यस बैंकले विभिन्न विनियमावलीसमेत जारी गरेको पनि छ,’ राष्ट्र बैंकले भनेको छ ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ मा व्यवस्था गरिएको छ । सोही ऐनको उल्लिखित व्यवस्थाबमोजिम क्यासिनोलगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत)को कारोबार गर्न राष्ट्र बैंकले सूचना प्रकाशित गरेको हो ।