यातायात व्यवसायीको चरम लापरबाही, हजारको टिकट काटेर यात्रुसँग १५ सय असुल्दै

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण

उत्तरी धादिङमा चल्ने सवारी साधनहरूले तोकिएकोभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । खनियाँबास गाउँपालिका–१ पेर्चो देखि धादिङबेँसीसम्म चल्ने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले हजार रुपियाँको टिकट काटेर एक हजार पाँच सय रुपैयाँ लिँदै आएको यात्रुहरूले गुनासो गरेका छन् । 

चाडपर्वको समयमा भन्दै बढी भाडा लिँदै आएको संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले दसैँ सकिएर दीपावली लाग्नै लाग्दासमेत महँगो भाडा असुल्दै आएको सुवम तामाङले बताए। ‘चलानीमा एक हजार रुपैयाँ लेखिए पनि एक हजार पाँच सय रुपैयाँ भाडा असुल्ने गरेका छन्,’ उनले भने, ‘केही दिन त चाडपर्वको समय भएर होला भनेर चुप बस्यौं। तर, हिजो आज पनि ५० प्रतिशत बढी भाडा असुलिरहेका छन्। यात्रुलाई मारमा पारेका सवारीसाधनलाई सरोकारवाला निकायले कानुनी दायरामा ल्याउन आवश्यक छ।’ 

सरोकारवाला निकायलाई पटक–पटक यात्रु मारमा परेको गुनासो गरे पनि सुनुवाइ नभएको गजेन्द्र तामाङ बताउँछन्। ‘महँगो भाडा तिरेर यात्रुहरू यात्रा गर्न बाध्य छन्,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय धादिङ, स्थानीय तह तथा प्रहरीलाई गुनासो गरे पनि समस्याको समाधान भएको छैन।’

यात्रुहरूले गुनासो गरिरहँदा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गरिएको बताए। ‘धादिङ-काठमाडौं चल्ने सवारी तथा पृथ्वी राजमार्गमा गुड्ने सवारीसाधनहरूलाई चेकजाँच गरी कारबाही गरेका छौँ। लिएको बढी भाडा यात्रुलाई नै फिर्तासमेत गरिएको छ। उनले भने, ‘धादिङको दुर्गम क्षेत्रमा चल्ने सवारीसाधनहरूमा पनि बढी भाडा असुल्ने गरेको गुनासो आएको छ। तोकिएकोभन्दा बढी भाडा असुलेको पाइएमा हामी कारबाही गर्छाैँ।’

त्यस्तै, चाडपर्वको समयमा क्षमताभन्दा बढी यात्रुसमेत चढाउँदै आएको यात्रुहरूले गुनासो गरेका छन्। उत्तरी धादिङमा चल्ने प्रायः सवारीसाधनहरूमा जोखिमपूर्ण यात्रा गर्न यात्रुहरू बाध्य छन्। क्षमताभन्दा बढी यात्रु चढाउने, सवारीसाधनको छतमा समेत यात्रा गर्ने, बोलेरो तथा ट्रकजस्ता सवारीसाधनहरूमा समेत यात्रु बोक्ने समस्या विद्यमान बनेको छ।  

सुझावित समाचार