- गरिबी र अन्यायको पीडाबाट मुक्त हुन पटकपटक आन्दोलन गरेर पनि राजनैतिक संक्रमणले बढाएको पीडा झेलिरहेको परिणाम हो जेन–जी पुस्ताको आन्दोलन । यो पीडाबाट सदाका लागि मुक्त हुने मार्गदर्शन र शान्ति विपश्यना ध्यान अभ्यासबाट मात्रै सम्भव छ ।
जेन–जी आन्दोलनले इमानदार र कर्तव्यनिष्ठ मात्र सबै क्षेत्रमा बिक्छन् र टिक्छन् भन्ने गहिरो सन्देश दिएको छ । आन्दोलनपछि वर्तमान संविधान र संरचना यथावत् राख्दै अलोकतान्त्रिक र अगणतान्त्रिक शैलीमा काम गर्ने नेताहरू किनाराकृत भएका छन् । पुराना दललाई आन्तरिक लोकतन्त्र सुदृढ गर्दै जेन–जी पुस्ताको मनोभावना बुझेर चल्न पुनर्गठित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । आन्दोलनमा अहिलेसम्म ७४ जनाको ज्यान गुमेको, सयौँ घाइते भएको र खर्बौंको राष्ट्रिय सम्पत्ति जलेको हुँदा राष्ट्र निर्माण गरी सहिदको सपना साकार पार्न जेन–जी पुस्ता झनै जोस जाँगरका साथ राजनीतिमा सक्रिय हुनैपर्ने नैतिक जिम्मेवारी थपिएको छ ।
पुराना मुख्य दलले संसद् विघटनमा आपत्ति प्रकट गरी अन्तरिम सरकारले पूर्णता नपाउँदै विरोध जनाउन थालेका छन् । अरू क्षेत्रबाट समेत विरोध आउन सक्छ । यस्तो विषम परिस्थितिमा विरोधको सामना गर्दा संयमता अपनाउन जरुरी छ । संयमता होस, ज्ञान र बोधबाट मिल्छ । होस, ज्ञान र बोध अध्यात्मले दिन्छ ।
सिद्धार्थ गौतमले वेद उपनिषद् र गीताको गहिरो अध्ययन गर्दै लामो तपध्यानबाट प्रतिपादन गरेको बुद्धको प्रमुख शिक्षा विपश्यना हो । विपश्यना भनेको विशेष नजरले हेर्नु अवलोकन गर्नु हो । अवलोकनको विषय हो दु:ख, दु:खको कारण, कारणको निवारण र निवारणको आष्टांगिक मार्ग । आष्टांगिक मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक (वाणी), सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् । यी आष्टांगिक मार्गलाई सुबोध र सरल हिसाबले शील, समाधि र प्रज्ञा भनिन्छ । शरीरभित्रको अन्तर आकाश निरीक्षण गरेर मात्र दु:खबाट छुटकारा पाई शान्ति र आनन्दको बोध हुन्छ । आनन्दको बोध हुनासाथ आफू र अरूप्रति दया र करुणा जाग्दै मानव हितकारी कर्म स्वतस्फूर्त गर्छ मानिस ।
अध्यात्म मानव जीवनको जरा हो । सुख शान्तिको जीवन जिउने कला र विज्ञान हो । अध्यात्मसँग जोडिएको छैन भने धन सम्पत्ति र भौतिक साधनस्रोत प्रशस्त भएर पनि मानिस जराविनाको वृक्षजस्तै दु:खी रहन्छ । अध्यात्मले मानिसलाई ऊभित्र रहेको शान्ति र आनन्दसँग भेट गराइदिन्छ । गरिबी र अन्यायको पीडाबाट मुक्त हुन पटक–पटक आन्दोलन गरेर पनि राजनीतिक संक्रमणले बढाएको पीडा झेलिरहेको परिणाम हो, जेन–जी पुस्ताको आन्दोलन । यो पीडाबाट सदाका लागि मुक्त हुने मार्गदर्शन र शान्ति विपश्यना ध्यान अभ्यासबाट मात्रै सम्भव छ ।
देश आज इतिहासकै कठिन मोडको चौराहामा छ । सडकमा ठुल्ठुला खाडल छन् । यस्तो अवस्थामा बुद्धिमतापूर्वक बिस्तारै सवारीसाधन चलाए मात्रै गन्तव्यमा पुगिन्छ । ट्राफिक प्रहरीले हरियो संकेत दिइसकेको छ । सडकमा अरू गाडी पनि आउन सक्ने हुँदा कुनै गाडीमा नझुध्ने र खाल्डो तर्किने गरी स्टेयरिङ, क्लज र ब्रेक उपयोग गर्नुपर्छ । यो काम बुद्धिको तहबाट मात्र पार गर्न सकिँदैन । होस, ज्ञान र बोध आवश्यक छ । बुद्धिभन्दा माथि उठेपछि होस आउँछ । निद्राबाट ब्युँझेपछि उठेर आँखा खोल्दै आज यो र त्यो गर्नु छ भन्दै मन अशान्त पारी भागदौड गर्नु होस होइन ।
होसबाट प्रेरणा र ज्ञानको दृष्टि मिल्छ । उधारो मान्यता, सुनिसुनाइ कुरा र सस्ता अफवाहलाई ज्ञान हो भन्ने भ्रम सिर्जना गरिएको छ समाजमा । असली ज्ञान विचार होइन, दृष्टि हो । ज्ञानको स्रोत आत्मा हो । ज्ञान तात्कालिक हुन्छ । पढेलेखेका कुरा र संग्रहित सूचना ज्ञान होइन । ज्ञानले जीवनको गाडीलाई सुरक्षित तबरबाट गन्तव्यमा पुग्न निरन्तर मार्गदर्शन र प्रकाश दिन्छ ।
बुद्धि, होस र ज्ञानको अनुभव अवलोकनपछि बोध हुन्छ । बोध त्यो अवस्था हो, जसमा आफूलाई थाहा हुन्छ कि आफूसँग छैन वा थाहा छैन । तर, त्यो नभएकाले आफ्नो सत्तामा कुनै फरक परेको छैन । मलाई यो पनि महसुस हुन्छ कि जान्नुपर्ने धेरै छ । तर, जानेको छैन । यो अवस्थाको नाम हो बोध । ज्ञान ज्ञानको ठाउँमा रहोस्, मन मलीन नपारिदेओस् भन्छ बोधले । बोधले ज्ञान हाबी हुन र विचार उच्छृंखल हुन रोक्छ । सांसारिक शिक्षाबाट होस, ज्ञान र बोध हुन सक्दैन । अध्यात्मबाट मात्र होस जाग्छ, दृष्टि मिल्छ र बोध हुन्छ ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभन्दा धेरै पहिलेदेखि विपश्यना ध्यान अभ्यास हुँदै आएको हो । सबैभन्दा पुरानो ऋग्वेदमा ‘यो विश्वाति विपश्यति भूवन’ भनिएको र भागवत गीताको पन्ध्रौँ अध्यायको दसौँ श्लोकले’ उत्क्रामन्तं स्थितं वापि भुंजानं वा गुणान्वितम् । विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुष: । अर्थात्, भित्री आत्मातत्वलाई अज्ञानी विमूढले देख्न सक्दैन, आत्मज्ञानीले ज्ञानचक्षुद्वारा देख्छ र मुक्ति पाउँछ, राग, द्वेष, मोहजस्ता विकारबाट भनेको छ ।
यसबाट के स्पष्ट हुन आउँछ भने वेद उपनिषद् र गीतामा सैद्धान्तिक रूपमा विपश्यना उल्लेख गरिएको, गौतम बुद्धभन्दा पहिलेका कयौँ बुद्ध पुरुषले साधना गर्दै आएकामा गौतम बुद्धले सिद्धान्त र अभ्यासलाई सँगसँगै अघि बढाए । आफ्नै शरीरलाई प्रयोगशाला बनाई अर्धचेतन मन (सब–कन्सस माइन्ड)सम्मै पुगेर इन्द्रियहरू आ–आफ्ना विषयसँग जोडिँदा चित्त र शरीरमा उत्पन्न हुने तरंग एक वैज्ञानिकले झैँ निरीक्षण, परीक्षण र विश्लेषण गरे । शरीर बाहिरबाट हेर्दा ठोस देखिए पनि परमाणु र विद्युतीय तरंगैतरंग रहेको, १२१ प्रकारका माइन्ड, माइन्डका चार खण्ड रहेको पत्ता लगाए । कसैले गाली गर्यो भने गालीको शब्द कानमा ठोक्किएपछि माइन्डको पहिलो संज्ञान खण्डले न्युट्रल तरंग उत्पन्न गर्दै के भयो भन्दै थाहा पाउँछ । दोस्रो विज्ञान खण्डले पुरानो सोच र स्मृतिको आधारमा यो त गाली हो, खराब छ भन्दै सुरुको न्युट्रल तरंगलाई नकारात्मक बनाएर शरीरमा फैलाउँछ । तेस्रो संवेदना खण्डले दु:खद् फिल गर्छ र चौथो संस्कार खण्डले गाली तुरुन्त हटाउने प्रतिक्रिया गरेर द्वेष जगाउँछ । प्रशंसाको शब्द प्रयोग गरेको भए यही प्रक्रियाबाट सकारात्मक तरंग फैलाउँदै राग जगाउँछ ।
फागुनमा हुने निर्वाचनमा जेन–जी पुस्ताको भावनाले दुईतिहाइ जनमत हासिल गर्नु छ । तब मात्र देशमा व्याप्त कुशासन र भ्रष्टाचार नियन्त्रण हुनेछ । जेन–जी पुस्तामा आफू मरेरै भए पनि देश बचाउनुपर्छ भन्ने होस जागृत भएकाले आन्दोलन सुरु भई सफल भयो ।