राष्ट्रपतिको पहलमा सरकारसँग पहिलो सर्वदलीय बैठक

चुनावमा केन्द्रित हुनुस् : राष्ट्रपति

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण
  • अब हरेक साता दलहरूसँग बैठक गर्छौँ : प्रधानमन्त्री 
  • विश्वसनीय वातावरण बनाउनुस्, चुनावबारे छलफलमै छौँ : कांग्रेस–एमाले

जेन–जी आन्दोलनको एक महिनापछि राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र प्रमुख राजनीतिक दलहरूलाई बोलाएर पहिलोपटक सर्वदलीय बैठक गरेका छन् । बैठकमा राष्ट्रपति पौडेलले चुनावको तयारीमा लाग्न दलहरूलाई अनुरोध गरेका छन् भने प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग हरेक साता छलफल गर्ने बताएकी छिन् । तर, प्रमुख दल कांग्रेस र एमालेले सरकारको क्रियाकलाप राजनीतिक प्रतिशोधतर्फ केन्द्रित भएको आरोप लगाउँदै चुनावमा जाने ग्यारेन्टी गर्न नसकिने जवाफ दिएका छन् ।

शुक्रबार साँझ शीतलनिवासमा भएको छलफलमा ठुला दल कांग्रेस, एमाले र माओवादीको नेतृत्व भने सहभागी थिएन । यी दलबाट दोस्रो तहका नेता उपस्थित थिए । बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएका थिए । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न नहुनेमा जोड दिएका थिए । 

‘पार्टीहरूले अन्योल सिर्जना नगरी जेन–जी पुस्ताको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जानुस् । दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गरोस्,’ राष्ट्रपति पौडेललाई उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने । 

बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल तथा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट प्रवक्ता ज्ञानेन्द्र शाही र नेतृ मीना लामा, एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल उपस्थित थिए । जनता समाजवादी पार्टीबाट नेतृ रेणुकुमारी यादव, जसपा नेपालका विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेता डा. जयकुमार राउत, लोसपाका नेताद्वय सवेन्द्रनाथ शुक्ल र ज्ञानेन्द्र झा, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति सहभागी थिए । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की तथा सबै मन्त्री बैठकमा थिए ।

कांग्रेस, एमाले, माओवादीसहितका नेताहरूले प्रधानमन्त्रीले बोलाउनुपर्ने बैठक राष्ट्रपतिले बोलाएकोमा प्रश्न उठाएका थिए । पूर्वमन्त्रीसमेत रहेका लोसपा नेता शुक्लका अनुसार सबै दलका प्रतिनिधि र सरकारका तर्फबाट बोल्ने समय दिइएको थियो । 

प्रधानमन्त्री कार्कीले पहिलो बैठक सिंहदरबारमा बोलाउन चाहेको, तर जेन–जी पुस्ताबाट सम्हाल्न गाह्रो होला भन्ने निष्कर्षसहित सरकारकै अनुरोधमा राष्ट्रपति कार्यालयमा बैठक बोलाइएको बताएकी थिइन् । 

‘जेन–जी पुस्तालाई सम्हाल्न गाह्रो होला भनेर पहिलो बैठक सिंहदरबारमा नबोलाइएको हो । सरकार गठनको एक महिनाको ग्यापमा बैठक भयो । अब यो ग्याप हुँदैन । हरेक साता म सिंहदरबारमा दलहरूसहितको बैठक बोलाउँछु,’ प्रधानमन्त्री कार्कीलाई उद्धृत गर्दै लोसपा नेता शुक्लले भने । 

प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने बताइन् । ‘जेन–जीहरू हामीहरू सबैको छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढौँ,’ उनले बैठकमा भनिन् । त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धक्क रूपमा चुनावको तयारी गर्न दलहरूलाई अनुरोध गरेका थिए ।

बैठकमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा अहिले चुनावकै वातावरण नभएको भन्दै कसरी चुनाव हुन्छ भन्दै प्रश्न राखेका थिए । सरकारले दलहरूसँग संवाद गरेर राष्ट्रिय एकताको वातावरण तयार गर्नेभन्दा पनि मुठभेडको वातावरण तयार गरिरहेको उनको आरोप थियो । जेलबाट छुटेका कैदीबन्दी र प्रहरीका लुटिएका हतियार फिर्ता गरेर प्रहरीको मनोबल उकास्ने तथा दलहरूसँग संवाद र समन्वय गरेर एकताको वातावरण निर्माणका लागि पोखरेलले सुझाव दिएका थिए । उनले पछिल्लो विकसित घटनाक्रमबारे पार्टीभित्र सचिवालयमा छलफल चलिरहेको र केन्द्रीय कमिटी बैठक बसेर धारणा तय गर्ने जानकारीसमेत गराएका थिए ।

सुझावित समाचार