बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका उनले एक अर्ब ५८ करोड ९४ लाख ५५ हजार रुपैयाँबराबर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय बागलुङले बिहीबार बागलुङ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
बढी ब्याज र सहज ऋणको आशामा सहकारीमा पैसा जम्मा गरेका एक हजार ५४३ बचतकर्ताको रकम अपचलन गरी नेपालीले सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। नेपालीसमेत सहकारीका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यष लक्ष्मी सेन सुनार तथा सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाहीसमेतको निर्देशनमा अपचलन भएको आरोपपत्रमा उल्लेख छ।
सहकारीको मुख्य कार्यालय बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमति रोका, सेवा केन्द्र बुर्तिबाङका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकाेटका शाखा प्रबन्धक अनिल नेपालीसमेतका सञ्चालक तथा कर्मचारीसमेतले सर्वसाधारणको बचत रकम अपचलन गरेकाे अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
रकम अपचलनको उद्देश्यले सहकारीको मूल्य, मान्यता, सिद्धान्तविपरीत प्रचलित ऐन, नियम, निर्देशिकाविपरीत पीडितहरूलाई अधिक ब्याज दिने प्रलोभनमा पारी सहकारी ठगी गर्ने उद्देश्यले रकम जम्मा गर्न लगाइएको थियो।
कृत्रिम खाता खडा गरेर रकम स्थानान्तरण गरेर उक्त रकमलाई कृत्रिम ऋणी खडा गरेर ऋण प्रवाह गरेको देखाइएको भेटिएको छ। नक्कली ऋण प्रवाहको माध्यमबाट सञ्चालक तथा कर्मचारीले सहकारी र बचतकर्ताको रकम अपचलन गरेको आरोपपत्रमा उल्लेख छ। हिनामिना गरेको रकमको हिसाबमिलान गर्न अर्को खातामा रकम रकमान्तर गरी त्यसबाट रकम निकालेर बचतकर्ताको रकम अपचलन गरेर राज्यलाई भुक्तानी गर्नुपर्ने राजस्वसमेत हिनामिना गरेको अभियोग छ।
सहकारीले नियमनकारी निकायमा पेस गर्नुपर्ने चौमासिक विवरण, वार्षिक लेखापरीक्षण प्रतिवेदनसमेत पेस नगरी सदस्यको बचत कानुनबमोजिमबाहेक अन्य प्रयोजनका लािग प्रयोग गरेको भेटिएको छ। तोकिएकोभन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेको, समितिका सदस्य, व्यवस्थापकसमेतले सहकारीको सम्पत्ति, बचत वा सेयर रकम हिनामिना गरेको, ऋण असुल हुन नसक्ने गरी समिति सदस्य, नातेदारलाई ऋण दिई हिनामिना गरेकोलगायतका गतिविधि भएका थिए।
सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापकसमेतको मिलेमतोमा सहकारीको सेयर वा बचत रकम आफूखुसी परिचालन गरी सहकारी संस्थालाई हानिनोक्सानी पुर्याएको, सहकारीले कानुनविपरीत लगानी गर्ने उद्देश्यले रकम उठाएको, सर्वसाधारणलाई विभिन्न सुविधाको लोभमा पारी बचत गर्न लगाएको र प्रतिवादीहरूले एक–आपसमा मिलेमतो गरी सहकारी ऐन, नियम, विनियमविपरीत, आफूलाई तोकेको जिम्मेवारीअनुसारको कार्य नगरी सहकारीको रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ। त्यही रकमबाट संस्थाका तत्कालीन अध्यक्ष एवं प्रतिवादी देवकुमार नेपालीले आफू एवं श्रीमतीसमेतका नामबाट घरजग्गालगायतमा लगानी गरेको दाबी अनुसन्धान प्रतिवेदनमा छ।
‘...आधार प्रमाणहरूबाट सहकारी संस्थामा रहेको बचतकर्ताहरूको रकम हिनामिना एवं ठगी गरी सो कसुरबाट प्राप्त गरेको सम्पत्तिको गैरकानुनी स्रोतबाट प्रतिवादी देवकुमार नेपालीले एक अर्ब ५९ करोड ९४ लाख ५५ हजार ३९१ बराबरको सम्पत्ति शुद्धीकरण गरेको’ अभियोग छ। यही रकमलाई उनीविरुद्धको बिगो कायम गरिएको छ। बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको माग दाबी भएको छ। उनको नाममा रहेको सहकारीको ४० लाखको सेयर एक लाख २० हजार नगद र जग्गासमेत जफतको माग दाबी छ।
नेपालीकी पत्नी छेलालाई पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ बिगो कायम भएको छ। विभिन्न स्थानमा उनको नाममा रहेका जग्गा जफतसमेतको माग दाबी छ। त्यस्तै, सहकारीमा आबद्ध चित्रबहादुर भण्डारी, लालमति रोक्का, शक्ति किसान, डोरबहादुर परियार, सुनील नेपाली, लक्ष्मी सेन सुनार, रूपा विक, झगबहादुर शाही, अनिता बुढामगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल र सन्तोष नेपालीलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ।