नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा स्व. शरदकुमार गौचनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पूर्वअध्यक्ष स्व. गौचनको आठौँ स्मृतिका अवसरमा बिहीबार आयोजना गरिएको श्रद्धाञ्जली सभामा सिंहले स्व. गौचनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको स्मरण गरेका हुन् । ‘निर्माण क्षेत्रमा गौचनको अभाव सधैँ महसुस भइरहन्छ,’ उनले भने, ‘निर्माण उद्योग अझै समस्यामुक्त हुन सकेको छैन ।’
विगतमा संघका रूपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रूपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरूको भनाइ थियो । त्यसैगरी महासंघ परिसरमा रहेको स्व. गौचनको अर्धकदको सालिकमा गौचनकी श्रीमती आशा गौचन, महासंघका सल्लाहकार तथा पदाधिकारीहरू, कार्य समिति सदस्यलगायतले माल्यार्पण गरेका थिए ।
गौचनको आठौँ स्मृति दिवसको अवसरमा आज सातै प्रदेशमा रहेका निर्माण व्यवसायी महासंघ तथा ७७ जिल्ला निर्माण व्यवसायी संघहरूमा पनि विविध कार्यक्रम गरिएको छ । ०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा गोली हानी गौचनको हत्या गरिएको थियो ।